logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

उत्पादन बढ्दा सस्तियो तरकारी


  • उज्यालो अभियान

लालबन्दी – उत्पादन बढेपछि सर्लाहीका बजारमा हरियो तरकारीको भाउ केही सस्तो भएको छ ।

बन्दाबन्दी र निषेधाज्ञाका साथै चाडबाडको समयमा असाध्य महँगिएको तरकारीको मूल्य अहिले भने घट्न थालेको हो । बाहिरबाट आउने तरकारी महँगो नै भएपनि यहाँका किसानले फलाएको तरकारी भने सस्तिएको खुद्रा व्यापारीले बताएका छन् ।

दशैँ, तीहारसम्म बाहिरबाट आउने फूलकोभी र गोलभेँडा प्रतिकिलो सय रुपैयाँ भन्दा बढीमा बिक्री भएपनि अहिले यहीँका किसानले प्रशस्त फलाएपछि आधा भन्दा बढीले मूल्य घटेको छ । जिल्ला स्थित लालबन्दी बजारमा अहिले कोभी ३० रुपैयाँ र गोलभेँडा ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । तरकारीको मूल्य घट्दा उपभोक्ताले राहत पाएपनि किसान भने मारमा परेका छन् ।

धेरै उत्पादन हुने भएकाले यहाँको फूलकोभी अन्यत्र समेत निकासी हुने गरेको छ । गोलभेँडा भने भर्खरै उत्पादन सुरु भएकाले थोरै परिमाणमा मात्रै निर्यात भइरहेको व्यापारीले बताएका छन् ।

कोभी र गोलभेँडा बाहेक स्थानीय किसानले फलाएको अन्य केही तरकारी पनि सस्तिएको छ । भान्टा प्रतिकिलो ५० रुपैयाँ, आलु ८० रुपैयाँ, सिमी सय रुपैयाँ र मुला २० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसानले जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा ल्याएर बिक्री गर्दै आएका छन् भने थोरै परिमाणमा तरकारी फलाउने किसानले गाउँघरमै लाग्ने हाटबजारमा तरकारी बेच्दै आएका छन् ।

सर्लाहीका किसानले व्यवसायिक रुपमा फलाएको तरकारी जनकपुर, वीरगञ्ज, गौर, लहान, विराटनगर, हेटौंडा, पोखरा, काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा निर्यात हुने गरेको छ ।