logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाही प्रशासनले सीमामा केही खुकुलो गरेपनि भारतीय सुरक्षाकर्मीद्वारा रोक


  • उज्यालो अभियान

मलंगवास्थित जिविस चौकमा सुरु गरिएको रिले धर्ना कार्यक्रम । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीको नेपाल–भारत सीमा नाका सोमबारबाट आंशिक रुपमा खोलिएको छ ।

मुख्य सीमा नाकाहरु खोल्नु पर्ने माग गर्दै जिल्लाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख, पालिका प्रमुख लगायत विशिष्ट व्यक्तिहरु नै धर्नामा बसेपछि स्थानीय प्रशासनले गृह मन्त्रालयसँग समन्वय गरी आंशिक रुपमा नाका खुलाएको हो । तर भारतीय अवरोधले सोमबार दिनभर आउजाउ हुन पाएन । भारतीय सीमा सुरक्षा बल एसएसबीले सीमामा अवरोध गरेका हुन् ।

विवाहको गाडी, एम्बुलेन्स, शवबाहन लगायत अत्यावश्यक सवारी साधनलाई मुख्य नाकाबाटै ओहोरदोहोर गर्न दिइने जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । सीमा नाका खुलाउन र अलपत्र छाडिएको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य तत्काल अघि बढाउन माग राख्दै सदरमुकाम मलंगवास्थित जिविस चोकमा आइतवारबाट अनिश्चितकालीन रिले धर्ना कार्यक्रम सुरु गरिएको थियो ।

पूर्ण रुपमा सीमा नाका नखुलुन्जेल र हुलाकी सडकको निर्माण कार्य अघि बढ्ने आधार तय नहुन्जेल धर्नाको कार्यक्रम अझै जारी नै रहने सर्वपक्षिय संघर्ष समितिका संयोजक एवं जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले बताए ।
भित्री बाटो, खोला खोल्सी र खेतआलीबाट आउजाउ भइरहेकाले भारतसँगका सबै नाकाहरु खोल्नुपर्ने संघर्ष समितिले माग गरेको छ ।

त्यस्तै अत्यन्त जरजर अवस्थामा रहेको हुलाकी सडकको धूलोले जनजीवन असाध्य आक्रान्त बनेको भन्दै लामो समयदेखि ठेक्का लिएर काम नगर्ने ठेकेदारसँगको सम्झौता रद्ध गरी नयाँ ठेकेदारमार्फत सडक स्तरोन्नतिको काम तत्कालै अघि बढाउनु पर्ने आफूहरुको माग रहेको संघर्ष समितिका संयोजक चौधरीको भनाई छ ।