logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मापदण्ड विपरित खन्दा लखन्देही खोलामा घर डुब्ने खाडल


  • उज्यालो अभियान

मापदण्ड विपरित स्काभेटरले खनेर लखन्देही खोलामा बनेको डरलाग्दो खाडल । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – खोलाबाट बालुवा तथा ग्राभेल निकाल्न ठेक्का पाएको ठेकेदार कम्पनीले मापदण्ड विपरित अनियन्त्रित ढंगले खनेका कारण लखन्देही खोलामा घर नै डुब्ने खाडल बनेको छ ।

लालबन्दी नगरपालिकाले लगाएको ठेक्का अनुसार गजुरमुखी निर्माण सेवा ईलामले ५ दिनअघिदेखि स्काभेटरले खनेर बालुवा तथा ग्राभेल निकाल्दा लखन्देही खोलामा डरलाग्दो खाडल बनेको हो । अत्यन्त ठूलो र डरलाग्दो खाडल बनेपछि स्थानीय बासिन्दाले बालुवा निकाल्न अवरोध नै गरेका छन् । लालन्दी नगरपालिका–१ र १० नम्बर वडाको हिरापुर नाका अन्तर्गत लखन्देही खोलामा ठेकेदार कम्पनीले खनेको खाडल देखेर आफूहरु त्रसित बनेको स्थानीय युवा किसन जर्घा मगरले गुनासो गरे ।

‘१२ फिट भन्दा गहिरो सुरुङ जस्तो लामो खाडल बनाएर खनिएको छ’, जर्घा मगरले उज्यालो अभियानसँग भने, ‘यसरी खाडल बनाएर गिटी बालुवा निकाल्दा भोलीका दिनमा बाढी आउँदा त तहस नहस बनाउने नै छ, अनि यस्तो खाडलमा जमेको पानीमा डुबेर गाउँका धेरैको ज्यान पनि जान सक्छ ।’ शनिबार दिउँसो स्थानीय दुईदर्जन युवाहरुले खोलामै पुगेर गिटी बालुवा निकाल्न अवरोध गरेका छन् ।

नगरपालिकाले प्रारम्भिक वातावरणीय परिक्षण अध्ययन गरी तयार पारिएको प्रतिवेदन अनुसार हिरापुर नाकामा ६०० मिटर लम्बाई, ७५ मिटर चौंडाई र १.५ मिटर गहिराईको खाडल खनेर उत्खनन् गर्नुपर्ने उल्लेख छ । तर ठेकेदारले खनेको खाडल १०–१२ फिट भन्दा गहिरो रहेको स्थानीय दाबी गर्छन् । २०० मिटरजति उत्तर–दक्षिण लामो खनिएको खाडलको चौंडाई भने ४० फिट हाराहारी मात्रै छ ।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ पोखरेलले गजुरमुखी निर्माण सेवाले लखन्देहीको हिरापुर नाका अन्तर्गत लखन्देही खोलाबाट १० हजार घनमिटर गिटी बालुवा निकाल्न २० लाख ५ हजार रुपैंयामा ठेक्का पाएको जानकारी दिए । नगरपालिकाले लखन्देही खोलाकै वडा नं. ११ र १२ को स्याङतान नाकाबाट २१ हजार घनमिटर बालुवा एवं ग्राभेल तथा वडा नं. १० र १२ को डब्काली टोल नाकाबाट १ लाख ३५ हजार घनमिटर बालवाु एवं ग्राभेल निकाल्न ठेक्का लगाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार उक्त दुवै ठेक्का पनि गजुरमुखीलाई नै परेको छ । उक्त दुई स्थानमा भने उत्खनन् सुरु भईसकेको छैन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले मापदण्ड अनुसार उत्खनन् नभएको पाईए कानूनी कारबाही गर्ने बताए । ‘अत्यन्त गहिरो खाडल भएको गुनासो आएको छ, हाँमी प्राविधिक सहित स्थलगत अनुगमन गर्नेछौं’, पोखरेलले भने, ‘मापदण्ड विपरित देखिए कानून अनुसार कार्बाही गर्नेछौं ।’

गतवर्ष बाँके खोलामा यसैगरी निकै गहिरो खनेर गिटी बालुवा निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको थियो । उक्त घटनाको विरोध स्वरुप स्थानीयले आन्दोलन गर्ने क्रममा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके चोकमा अवरोध हटाउन प्रहरीले गोली चलाउँदा अर्का एक युवकको पनि मृत्यु भएको थियो ।

पूर्व–पश्चिम विद्युतीय रेल सेवाका लागि ट्रयाकबेड निर्माणका विभिन्न कामको ठेक्का लिएको गजुरमुखीले सोही कामका लागि जिल्लाका विभिन्न खोलाहरुमा आफैले ठेक्का लिएर ठूला ढुंगा, ग्राभेल र बालुवा निकाल्दै आएको छ ।