logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

यस बर्षपनि मकैमा फौजी र गबारो किराको प्रकोप


  • उज्यालो अभियान

फौजी कीराको प्रकोप नियन्त्रणका लागि मकैमा विषादि छिट्दै गरेका किसान । (तस्बिर : घनश्याम/उज्यालो अभियान)

घनश्याम बलम्पाकी/बागमती – यस बर्षपनि फौजी र गबारो किराले मकै बाली नष्ट पार्न थालेपछि सर्लाहीका किसान चिन्तित भएका छन् ।

किसानहरुले हिउँदे वालीका रुपमा सयौँ बिगाहमा लगाएको मकैवाली फौजी र गबारो किराले नष्ट पार्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । जिल्लाको लालबन्दी, पत्थरकोट, कर्मैया, ढुंग्रेखोला, शंकरपुर, राजघाट, हजरिया, बरहथवा, मुर्तिया, जानकीनगर लगायत बिभिन्न ठाउँका किसानले ब्यवसायिक रुपमा मकैखेती गर्दै आएका छन् ।

गतबर्ष मकैमा देखिएको फौजी किराको प्रकोप यसबर्ष पनि देखिएको छ । यस बर्षको मक,ै धान वाली लगायत अन्य वालीमा पनि अत्याधिक रुपमा किराको प्रकोप देखिएको कृषि प्राविधिकहरु बताउँछन् । किसानको सयांै बिगाह क्षेत्रफलमा लगाइएको मकै फौजी किराले खाएर नष्ट पारेको बागमती–८ का वडाध्यक्ष मानबहादुर तामाङ्गले जानकारी दिए । यसवर्ष त फौजी किरा मात्रै हैन गबारोले समेत मकै सखाप पारेको किसानहरुको गुनासो छ ।

यसरी किराको प्रकोपले मकैबाली सखाप पार्न थालेपछि एग्रोभेटबाट किनेर लगेको बिषादी छर्दा समेत किरा नियन्त्रण नभएको लालबन्दी–१२ जियाजोरका किसान बालकिशोर थापाले गुनासो गरे । ‘दुइ बिगाहामा लगाएको मकैको पात किराले खाएर आधा सरो ठुटो बनाएको छ’, उनले गुनासो गरे, ‘किरा मार्ने बिषादि दुइ पटक लगाइसके पनि किरा मर्दैन झन प्रकोप बढ्दै गएको छ, एकरती नियन्त्रण भएन, अब त मकै होला भन्ने आसै मरीसक्यो, हाम्रो त बिजोगै हुने भयो ।’

त्यस्तै बागमती नगरपालिका –८ का किसान बलबहादुर मोक्तान पनि एक बिगाहमा लगाएको मकै किराले खाएर नष्ट पार्न थालेपछि चिन्तित छन् । ‘तीनपटक बिषादि छरे तर नियन्त्रण भएको छैन, यस्तो किसिमको किरा त कहिले देखिएको थिएन, यस्तै हो भने जोगीनै बनाउने भयो’ मोक्तानले निरास हुँदै भने ।

किराले मकैको विरुवा खाएर सिध्याएपछि अर्कै वाली लगाउने तयारीमा छन् बरहगवा नगरपालिका –२ हजरियाका किसान रामबाबु साह । ‘दुइ बिगाहमा चालिस हजार खर्च लगाएर मकै रोपेँ तर वालुवामा पानी खन्याए झै भयो’, उनले गुनासो गरे, ‘कस्तो किरा आयो जस्तोसुकै बिषादिले पनि नमर्ने ।’

यसरी किसानले लगाएको मकै वाली फौजीकिराले सखाप पारीसक्दा पनि सम्बन्धित निकाय भने बेखबर छन् । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहाका अनुसार फौजीकिराले शुरुमा मकैको नरम भाग गुवाबाट खान शुरु गरेर पुरै मकैको बोट नै ठुटोहुने गरी खाने बताए । ‘बिस्तारै डाठको भित्रीभाग सम्म खाँदै जानाले बिरुवा नै मर्ने गर्छन्’ उनले भने । रातको समयमा किरा बढी सक्रिय हुने भएकोले साँझपख बिषादि छर्कन समेत किसानलाई सुझाव दिएका छन् । सर्लाहीमा ब्यवसायिक रुपमा दश हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा उन्नत जातका (हाइब्रिड) मकै खेती हुने गर्छन् ।