हरिपूर्वा बजारमा चेतनामूलक नाटक हेर्न जम्मा भएका स्थानीय । (तस्बिर : उज्यालो अभियान)


हरिपूर्वा – लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिकामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।


लैंगिक हिंसा न्युनिकरण विषयक अन्तरक्रिया कार्यक्रममा हरिपूर्वा नगरपालिकाका प्रमुख सियाराम रायले लैंगिक हिंसा मानिसको चेतनासँग गाँसिएको कुरा भएको बताए । सोही अवसरमा उपप्रमुख चन्द्रकला देवी सुँढीले हिंसाबाट महिलाहरु बढी पीडित भइरहेको तथ्य औंल्याउँदै लैंगिक हिंसा न्युनिकरणमा पुरुषको पनि ठूलो भुमिका रहेको बताईन् । यसैगरी हरिपूर्वा नगरपालिका वडा नं. ५ का अध्यक्ष विजयकुमार यादवले लैंगिक हिंसा प्रत्येक घर, परिवार, समाजमा व्याप्त रहेकोले यसलाई न्युनिकरण गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहने तर्क गरे ।

हरिपूर्वा नगरपालिका वडा नं. ६ का अध्यक्ष दिनेश रायले लैंगिक हिंसाबाट पुरुषहरु पनि पीडित रहेको भएपनि तुलनात्मक रुपमा महिलाहरु बढी पीडित भएको तथ्य औंल्याउँदै महिला तथा बालबालिका शाखालाई अझ शसक्त र क्रियाशील बनाउनु पर्ने बताए । हरिपूर्वा नगरपालिकाको समन्वय तथा वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा बागमती सेवा समाज नेपाल, सर्लाहीले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा हरिपूर्वा नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियारले समेत आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो भने नगरपालिकाको महिला तथा बालबालिका शाखाका धनकुमारी खड्काले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।
नगर प्रमुख सियाराम रायको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा नगर कार्यपालिका पदाधिकारी, कर्मचारी एवं सरोकारवालाहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक कुमार भण्डारीले गरेका थिए ।
यसैगरी सोही दिन स्थानीय बाल क्लबले तयार गरेको महिला हिंसा विरुद्धको सडक नाटक हरिपूर्वा बजारमा प्रदर्शन गरिएको छ । महिला हिंसा, बालविवाह न्युनिकरण, विभेद आदि विषय समेटिएको सन्देशमुलक नाटक स्थानीय बाल क्लबले तयार गरी प्रदर्शन गरेको हो ।