नारायणखोलामा गाँजाको बोट काट्दै प्रहरी टोली । (तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय सर्लाही)

नारायणखोला – गाँजा खेतीको प्रतिवन्ध फुकुवा गर्ने बहस चलिरहेका बेला सर्लाहीको उत्तरी विकट क्षेत्रमा पर्ने नारायणखोलामा करिव अढाई विगाहमा लगाइएको गाँजा शनिवार सर्लाही प्रहरीले फाँडेको छ ।




चुरेक्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४ नारायणखोलास्थित सत्रकठ्ठा र मगरडिही भन्ने ठाउँको डाँडापाखामा व्यवसायिक रुपमा लगाइएको गाँजा प्रहरी पुगेर नष्ट गरेको हो । प्रहरी निरीक्षक (इन्सपेक्टर) निर्मल थापाको नेतृत्वमा ईलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले २५ हजार जति गाँजाको बोट नष्ट गरेर फर्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गाँजा फाँड्न मध्यान्ह त्यस क्षेत्रमा पुगेको टोली शनिवार साँझ अबेर फर्किएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए । फाँडिएका गाँजाका बोटहरु आगो लगाएर नष्ट समेत पारिएको प्रहरीले जनायो ।

नारायणखोलामा लगाइएको गाँजा प्रहरीले बेला–बेलामा गएर काट्ने गरेको छ ।
भारतसम्म पु¥याएर बेच्दा राम्रो पैँसा आउने भएकाले नारायणखोलावासीले केही वर्षदेखि डाँडापाखाका बारीमा अन्य बाली लगाउन छाडेर जताततै गाँजा लगाउने गरेका स्रोतले जनाएको छ । एक/दुई पटक प्रहरी पुगेर फाँड्नै नसक्ने क्षेत्रमा गाँजा लगाइएको स्थानीयहरु नै बताउँछन् ।
स्रोतका अनुसार त्यहाँ गाँजा खेती गर्न आवश्यक प्राविधिक सरसल्लाहदेखि निकासीसम्मको काम भारतीयहरु नै आएर गर्छन् । अहिलेसम्म सेवन तथा खेती गर्न नपाईने गाँजाको प्रतिवन्ध खुलाउनु पर्ने माग उठिरहेको छ ।
चार दिनअघि मात्रै संयुक्त राष्ट्रसंघले गाँजालाई हानिकारक लागूऔषधको सूचीबाट हटाएको थियो । नेपालले पनि गाँजालाई हानिकारक लागूऔषधको सूचीबाट हटाउनुपर्ने पक्षमा मतदान गरेको छ ।