

नवराज अधिकारी/बागमती – सर्लाहीको बागमती नगरपालिका–३ धरहरामा बिहिवार (आज) बाट दोस्रो मेयरकप फुटबल प्रतियोगिता हुँदैछ ।


स्थानीय अन्नपूर्ण साहारा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा बागमतीको १२ वटा वडाका एक–एक वटा टिम तथा आयोजक एक गरी १३ वटा टिमले प्रतिष्पर्धा गर्ने छन् । आयोजकका अनुसार आज दिउँसो वडा नं १ र १२ को टिमबीच उद्घाटन खेल हुनेछ ।

प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा बागमती नगरपालिका मेयर प्रमुख भरत कुमार थापाको विशिष्ट आतिथ्यतामा मध्यान्ह प्रतियोगिताको उद्घाटन गरिने आयोजक क्लबका सचिव कालीबहादुर बोहोराले जानकारी दिए । मंसिर ३० गते फाईनल खेल हुने प्रतियोगिताको विजेताले नगद रु ५१ हजार र उपबिजेताले नगद रु २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगितामा दैनिक म्यान अफ दि म्याच हुने खेलाडीलाई खेलप्रेमी भुवनभक्त बोहोराले ट्रफी र मेडल प्रदान गर्ने आयोजक क्लबका अध्यक्ष टंक बोहोराले बताए ।