सर्लाहीको चुरेक्षेत्रमा लगाइएको कोदो खेती । (तस्बिर : उज्यालो अभियान)


पत्थरकोट – पौष्टिक र पुरानो बालीको रुपमा चिनिने कोदोको खेती सर्लाहीमा घट्दै गएको छ ।
केही वर्षअघिसम्म सिँचाईको उपलब्धता नरहेको चुरेका पाखो बारीमा प्रशस्त मात्रामा कोदो खेती हुन्थ्यो । कोदो खेती हुने बारीमा अहिले अन्य बाली लगाइन्छन् । जीवनशैली परिवर्तनसँगै सहजताका लागि किसानले अन्य बाली लगाउन थालेका हुन् ।


ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर शिखरडाँडाकी सीता दर्लामीले अहिले निकै थोरै क्षेत्रमा कोदो खेती हुने गरेको र उत्पादित कोदो घरेलु मदिरा बनाउन प्रयोग भइरहेको जानकारी दिईन् । ‘पहिला–पहिला पाखो बारी भरी नै कोदो लगाइन्थ्यो, अहिले रोटी खाने रहरले मात्रै कोदो लगाउने गरिएको छ’ दर्लामीले भनिन् । आफूले उत्पादन गरेको कोदो मदिरा बनाउनकै लागि प्रयोग गर्दै आएको दलार्मले बताईन् ।
सर्लाहीमा चुरेभेगका कालिन्जोर, परवानीपुर, पत्थरकोट र नारायणखोला कोदो खेतीका लागि उपयुक्त मानिन्छन् । रोटी खान र मदिरामा प्रयोग गर्ने उद्देश्यले भक्तिपुर, चन्द्रनगर लगायत दक्षिणी क्षेत्रमा पनि यदाकदा कोदो खेती हुने गरेको छ ।
धान, मकैको भाउमा नै बिक्री हुने गरेपनि रोप्न तथा भित्र्याउने झन्झटले कोदो खेती कम हुन थालेको लालबन्दी नगरपालिका–११ हीरापुरका किसान सन्तवीर दोङले बताए । पहिलाको तुलनामा थोरै मात्रामा उत्पादन दिने कोदो केहीले बिक्री गर्ने गरेका र अधिकांशले मदिरा बनाउन प्रयोग गर्दै आएका दोङको भनाई छ ।

जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाले जिल्लामा पछिल्लो सयम कति क्षेत्रफलमा कोदो खेती भइरहेको छ भन्ने विवरण कार्यालयसँग नरहेको जनाएको छ । कोदोसँगै जिल्लामा विभिन्न दलहन तथा तेलहन बालीहरुको खेती घट्दै गइरहेको छ ।