

हरिपुर – सर्लाहीका स्थानीय तहहरुले अनुदानमा मलखाद वितरणका लागि धमाधम बिक्रेता छनौट गरिरहेका छन् ।
यसअघि संघीय सरकार मार्फत हुँदै आएको अनुदानको मलखाद वितरण कार्य अब स्थानीय तहहरुबाटै हुँदैछ । स्थानीय तहमै मलको आपूर्ति तथा वितरण व्यवस्थापन प्रभावकारी बनाउन मल बिक्रेता छनौट गर्ने काम भइरहेको हो । सोही अनुसार हरिपुर नगरपालिकाको नौ वटै वडामा मल वितरण गर्ने सहकारी संस्थाहरु छनौट गरिएको छ ।


हरिपुरको वडा नं. १ मा हिमाल पहाड तराई कृषि सहकारी, वडा नं. २ मा हरिपुर कृषि सहकारी, वडा नं. ३ मा धनलक्ष्मी कृषि सहकारी र वडा नं. ४ मा गढिमाई कृषि सहकारी संस्थाले अनुदानको मल वितरण गर्ने जिम्मा पाएका छन् । त्यसैगरी वडा नम्वर ५ मा ओम नम शिवाय कृषि सहकारी संस्था, वडा नं. ६ मा साना किसान कृषि सहकारी संस्था, वडा नम्वर ७ मा ग्रामीण सामुदायिक कृषि सहकारी संस्था, वडा नम्वर ८ मा कृषक नेपाल कृषि सहकारी संस्था र वडा नम्वर ९ मा साना किसान कृषि सहकारी संस्थालाई छनौट गरिएको छ ।

जिल्लाका अन्य पालिकाहरुले पनि मल वितरण गर्ने सहकारी छनौट गर्न प्रक्रिया अघि बढाइरहेका छन् । अहिलेको व्यवस्था अनुसार किसानहरुले आवश्यक परेका बेला समयमै मल पाउन सकिरहेका छैनन् । खेती लगाउने बेला मल नपाउँदा किसानहरु कालोबजारीमा चर्को मूल्य तिरेर भारतीय मल प्रयोग गर्न बाध्य भइरहेका छन् ।