विहिबार साँझ बसबरिया स्थित क्रसर उद्योगमा पुगेको अनुगमन टोली । (तस्बिर : उज्यालो अभियान)


हरिवन – जिल्ला स्तरीय अनुगमन टोलीले सर्लाहीका सबै ढुंगा–गिट्टी क्रसर उद्योगको अनुगमन सकेको छ ।
सर्लाहीका क्रसर उद्योगको अनुगमन, मापदण्ड नपुगेका उद्योग बन्द गराईने
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नेतृत्वको टोलीले दुई दिन लगाएर जिल्ला स्थित सञ्चालनरत नौ वटा क्रसर उद्योगको स्थलगत अनुगमन गरेको हो । बुधबार रानीगंज, हरिपुर, फूलजोर र श्रीनगरमा रहेका क्रसरको अनुगमन गरिएको तथा
विहिबार बागमती र बसबरियामा रहेका उद्योगको अनुगमन गरिएको प्रजिअ पौडेलले जानकारी दिए । बागमतीमा ४ वटा र बसबरियामा एउटा क्रसर उद्योग छन् ।


त्यसमध्ये बसबरियामा सुरेन्द्र सिंहको नाममा रहेको क्रसर उद्योग र बालुवा छान्ने बेग्लै उद्योग मात्रै नवीकरण भई संचालनमा रहेको पाइएको टोलीले जनाएको छ । बागमतीमा रहेका चारवटै क्रसर उद्योग भने नवीकरण नभई चलाइरहेको पाइएको छ ।

अधिकांश क्रसर उद्योग नविकरण नै नभएको र मापदण्ड विपरित रहेको देखिएको प्रजिअ पौडेलले बताए । अब एकदुई दिनभित्र क्रसर उद्योगको अवस्था बारे प्रतिवेदन तयार पारेर केन्द्रमा पठाईने प्रजिअ पौडेलको भनाई छ ।
अवैध क्रसर उद्योग बन्द गर्ने संघीय सरकारले निर्णय गरेपछि जिल्लामा सुरक्षा अधिकारी, घरेलु तथा साना उद्योग, वन लगायत सरोकारवाला निकायका प्रमुखहरुले यहाँका क्रसरहरुको अनुगमन गरेका हुन् । क्रसर उद्योगहरुमाथि नवीकरण, वन, सडक लगायत संवेदनशील क्षेत्रबाट कायम गर्नुपर्ने दूरी लगायतका विषयमा गुनासो आइरहने गरेको छ ।