शुक्रबार साँझ देखिएको पिपरिया स्थित लखन्देही खोला किनारमा छठको सजियाघाट । (तस्बिर : उज्यालो अभियान)





हरिवन – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने क्रममा जलाशयमा निर्माण गरिएका सजियाघाटहरु सजिएर झकिझकाउ बनेका छन् ।






सर्लाहीमा सदरमुकाम मलंगवासहित बागमती नदी, मनुष्मारा नदी, लखन्देही खोला, ढंग्रा खोला, हरिवन, नवलपुर, लालबन्दी, ईश्वरपुर, बरहथवा लगायत जिल्लाभरका पोखरी, नहर लगायत जलाशयमा सरसफाई गरी बनाईएका सजियाघाट साँझ झकिझकाउ देखिएका थिए । झल्लर बत्ति, अतिसबाजी, सर्वसाधारणको भिडभाड लगायत कारणले सजियाघाट झकिझकाउ बनेको हो । व्रतालु र परिवारका सदस्य पूजाको सामग्री लिएर जलाशयमा जाने सर्बसाधारणको भिडभाडले दिउँसैबाट सजियाघाट स्थल झकिझकाउ बनेको हो ।

सर्लाहीका प्रायजसो सजियाघाटमा पुग्नका लागि शुक्रबार साँझ विभिन्न राजनैतिक दलका नेता, मन्त्री, सांसद्, मेयर, उपमेयर सहितका पदाधिकारीहरुलाई भ्याई नभ्याई थियो । सबैजसो नेता तथा पदाधिकारीहरु हस्याङ्फस्याङ् गर्दै सजियाघाटमा पुगेका थिए ।


सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शुक्रबार छठ पर्व शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । ‘छठपर्वका अवसरमा शुक्रबार साँझ सजियाघाटमा व्रतालु, सर्बसाधारणहरुको भिडभाड बाहेक अन्य कुनै अपृय घटना भएको छैन’, प्रजिअ पौडेलले भने, ‘म जिल्लाको पश्चिम भेग बलरासम्म पुगेर आएँ, सबैतिर शान्तिपूर्ण र उल्लासपूर्ण रुपले छठपर्व मनाएको पाईएको छ ।’


कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व अस्ती बुधबारदेखि सुरु भएको हो । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन शुक्रबार कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । शुक्रबार रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन शनिबार बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । वि.सं. २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । छठको अवसरमा आज प्रदेश २ सरकारले बिदा दिएको छ ।

कात्तिक शुक्ल षष्ठीको बेलुकी काठमाडौंको गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपतिले समेत छठ पूजा गर्दै आएको कार्यक्रम यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको जनाइएको छ ।