logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

नवलपुर ट्याक्टर दुर्घटना : पुनर्वासवासीको मलंगवामा प्रदर्शन


  • उज्यालो अभियान

प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेका पुनर्वासवासी । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – एक युवकको ज्यान जाने गरी सर्लाहीको लालबन्दी नगरपालिका–२, नवलपुरमा करिव एक महिनाअघि भएको दुर्घटनाको विषयलाई लिएर सदरमुकाम मलंगवामा बुधवार प्रदर्शन गरिएको छ ।

कात्तिक १० गते दशैँको टिकाको दिन राती नवलपुर–मलंगवा सडकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको थियो भने अन्य तीन जना घाईते भएका थिए । तीमध्ये घाईते दुई युवकको काठमाण्डौंमा उपचार चलिरहेको छ ।

सो घटनामा प्रहरीले पीडितलाई न्याय दिलाउन गम्भीरतापूर्वक भूमिका निर्वाह नगरेको भन्दै पुनर्वास संघर्ष समितिको तर्फबाट मलंगवामा प्रदर्शन गरिएको हो । नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका मृतक युवक र घाईतेहरुको गाउँ, पुनर्वासका स्थानीयहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाई मृतकलाई कानुन बमोजिमको राहत, घाईतेलाई औषधोपचारको व्यवस्था लगायतको माग राखेका छन् ।

आन्दोलनको कार्यक्रम अन्तर्गत बिहिवार पुनर्वासवासीले नवलपुर चौकस्थित राजमार्गमा एक घण्टा चक्काजाम गर्दै प्रदर्शन गर्ने तयारी गरेका छन् । प्रहरीले दुर्घटनामा संलग्न रहेको आशंकामा लालबन्दी नगरपालिका २ बाटै एउटा ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखिरहेको छ ।

ट्याक्टर चालकले आफूले दुर्घटना गराएको प्रहरीसमक्ष स्वीकार गरेका छन् । तर ट्याक्टरधनीले भने चालकले कसैको प्रभावमा परी दुर्घटना गराएको दिन घरमै रहेको ट्याक्टरले दुर्घटना गरायोे भनी गलत कुरा स्वीकारी रहेका दावी गर्दै आएका छन् । लालबन्दी प्रहरीले घटनाको निष्पक्ष छानविन जारी रहेको जनाएको छ ।