प्रतियोगिता उद्घाटन समारोहमा उपस्थित अतिथिहरु ।


घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका–६, घुर्कौलीमा मंगलबारबाट जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
स्थानीय सिद्धार्थ युवा क्लबले आयोजना गरेको प्रतियोगिताको प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले उद्घाटन गरे । उनले सोही अवसरमा आयोजक क्लबलाई ११ जोर फुटबल बुट समेत प्रदान गरेका छन् । कात्तिक २८ गतेसम्म चल्ने प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो दिन भएको खेलमा आयोजक सिदार्थ युवा क्लब घुर्कौलीले ओम शान्ति युवा क्लब चारलिक र ओम सिदार्थ युवा क्लब सासापुरले जन उत्थान युवा क्लब हरिवन–५ लाई ट्राईबे्रकरमार्फत हराएका छन् ।
प्रतियोगिता उद्घाटन समारोहमा जिल्ला समन्वय समितिकी उपप्रमुख जमुना पराजुली, हरिवन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष प्रल्लाद बुढाथोकी, नेकपाका नेताहरु सुरेन्द्र लामा, चूडामणि वाग्ले लगायतको आतिथ्यता रहेको थियो ।

उता बागमतीमा जारी पहिलो नयाँबस्ती गोल्डकप फुटबलमा लाफा युवा क्लब मिलनचौक फाइनलमा प्रवेश गरेको छ । मंगलवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा आयोजक नयाँ बस्ती युवा क्लबको ए टिमलाई २–१ गोलले पराजित गर्दै लाफाले फाइनलमा जनसहयोगी युवा क्लबसँग भेट पक्का गरेको हो ।
लाफा र जनसहयोगीले अब बिहिवार उपाधिका लागि फाइनल खेल खेल्ने छन् । यस प्रतियोगिताको बिजेताले २० र उपबिजेताले १० हजार नगद प्राप्त गर्नेछन् ।