

धनकौल – सर्लाहीको दक्षिणी भेगका उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने घोषणा गरेका छन् ।
उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् । आइतवार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने बताएका छन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मुकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताए । किसानको पसिनाको मूल्य नदिने उद्योगीहरुलाई सरकारले संरक्षण गरेको भन्दै रायले वर्षैसाल आफ्नो उत्पादनको पैसा माग्न काठमाडौंमा धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए ।
मन्त्री भट्टले भने बन्द भएका उद्योगको जायजेथा बेचेर भएपनि किसानको रकम दिलाउने प्रतिवद्धता दोहोर्याए । किसानको उखु किनेर समयमै रकम भुक्तानी नगर्ने उद्योगीलाई गिरफ्तार गरिने भन्दै उहाँले जसरी पनि समस्या समाधान गरिने बताए । उनले न्याय दिलाउने भन्दै कृषकहरुलाई आन्दोलन नगर्न आग्रह गरे ।

सर्लाहीको पश्चिम भेगको अन्नपूर्ण चिनी मिल धनकौल र दक्षिणी भेगको महालक्ष्मी चिनी मिल बगदहले किसानलाई अघिल्ला वर्षहरुमै बेचेको उखुको पैसा नदिएर बिचल्लीमा पारिरहेका छन् । यि दुवै चिनी उद्योग अहिले सञ्चालनको तयारी भइरहेको छ ।
जिल्लाको उत्तरी भेगको इन्दुशंकर चिनी उद्योग हरिवनबारे भने भुक्तानिबारे कुनै गुनासो छैन् । उद्योगले किसानको बक्यौता बाँकी नरहेको जनाएको छ ।