मृतक महेन्द्र रामलाई शहिद घोषणा, १० लाख क्षतिपूर्ती, किटानी जाहेरी दर्ता गरी दोषिलाई यथाशिघ्र पक्राउ गर्न माग गर्दै कांग्रेसले असोज २८ गते मलंगवामा गरेको प्रदर्शन । (फाइल तस्बिर : उज्यालो अभियान)
मलंगवा – नेपाली कांग्रेसले आज सर्लाही सदरमुकाम मलंगवामा प्रदर्शन गर्दैछ ।
ठीक एक महिनाअघि आफ्ना कार्यकर्ता रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र राम कुटपीटबाट मारिएको घटनालाई लिएर कांग्रेससले मलंगवामा आज दिउँसो कार्यकर्ता उतार्न लागेको हो । असोज २२ गते गाउँकै केही व्यक्तिहरुको कुटाईबाट मृत्यु भएका महेन्द्र रामको अझै अन्त्येष्टि हुन सकेको छैन् । मृतकको शव महिना दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमै छ ।
पीडित परिवारलाई राहतको व्यवस्थापन गर्न र जाहेरी परेका व्यक्तिहरुलाई तत्कालै पक्राउ गरी कारवाही हुनुपर्ने माग गर्दै कांग्रेसले आज दोस्रो पटक मलंगवामा कार्यकर्ता उतारेर प्रदर्शन गर्न लागेको हो । यसअघि गत असोज २८ गते पहिलो पटक यसै घटनालाई लिएर सदरमुकाम मलंगवामा प्रदर्शन गर्दा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । जिल्ला प्रहरी कार्यालय मलंगवा अगाडि भएको झडपमा दुवै तर्फका ४ दर्जन बढी घाईते भएका थिए ।
कांग्रेस नेताहरुले आजको आन्दोलनलाई शान्तिपूर्ण बनाउने बताएका छन् । जिल्ला प्रहरीतर्फ नगई मलंगवा बजारमा ¥याली निकाली पीडित परिवारलाई राहत माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बुझिएको छ । कांगे्रस नेता एवं संघीय सांसद डा. अमरेशकुमार सिंह र अर्का नेता एवं प्रदेश सभा सदस्य वीरेन्द्र सिंहले मुख्य रुपमा आन्दोलनको नेतृत्व गर्दै आएका छन् ।
प्रदर्शनलाई मध्यनजर गर्दै मलंगवामा थप मद्धतमा प्रहरी झिकाई सुरक्षा सतर्कता बढाइएको छ । प्रहरीले पीडितको तर्फबाट आएको जाहेरी स्वीकार गरिएको जनाएको छ । पीडितले नाम किटान गरेकै ११ जना विरुद्ध जाहेरी लिइएको र त्यसमध्ये ३ जनालाई घटना लगत्तै पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँकीको पनि खोजी चलिरहेको प्रहरीले बताएको छ ।