logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरियो तरकारीको मूल्य निरन्तर आकासिँदो


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा हरियो तरकारीको मूल्य निरन्तर बढ्दा उपभोक्ता मारमा परेका छन् । किसानले सोझै व्यापारीलाई बेच्ने तयारी उपभोक्तासम्म पुग्दा महँगो मूल्य पर्ने गरेको छ ।

जिल्लाको लालबन्दी, नवलपुर, हरिपुर, हरिवन, बयलवास, सोल्टी, बरहथवा, मलंगवा लगायत ग्रामीण तथा मुख्य बजार क्षेत्रमा तरकारीको भाउ महँगिएको हो । यहाँ उत्पादन हुने तरकारीको तुलनामा बाहिरबाट आउने तरकारी बढी मूल्यमा बिक्री भइरहेको छ ।

लालबन्दी खुद्रा तरकारी बजारमा उपत्यकाबाट आउने गोलभेँडा सय रुपैयाँ, काक्रो ९० देखि सय रुपैयाँ र पूर्वका जिल्लाहरुबाट आउने बन्दा कोभी ७० देखि ८० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ । बजारमा अहिले फूल कोभी सबै भन्दा महँगो छ । स्थानीय स्तरमै भर्खरै उत्पादन हुन थालेको फूल कोभी प्रतिकिलो १२० देखि १४० रुपैयाँँमा बिक्री भइरहेको खुद्रा व्यापारी सावित्रा कापरले जानकारी दिईन् ।

यसैगरी यहाँ नै उत्पादन हुने बोडी ८० रुपैयाँ, भान्टा ७० रुपैयाँ प्रतिकिलो, रायोको साग प्रति मुठा २० देखि २५ रुपैयाँ र लौका प्रतिगोटा ३० देखि ४० रुपैयाँमा बिक्री भइरहेको छ । लकडाउनपछि बढ्दै गएको तरकारीको भाउ पछिल्लो समय ढूवानी खर्च बढेपछि झन महँगो भएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष एवं लालबन्दीका थोक तरकारी व्यापारी रामदरेश चौधरीले बताए ।
आफूहरुले किसानसँग खरिद गर्दा पनि पहिलेको भन्दा बढी मूल्य हाल्ने गरेको थोक व्यापारी चौधरीको भनाई छ ।