logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

तालाबन्दीपछि मलंगवाका मेयर र उपमेयरबीच झन चिस्सियो सम्बन्ध


  • उज्यालो अभियान

मेयर उपमेयरकै बीचमा लेखा शाखामा ताला लगाउँदै जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी । तस्बिर: उज्यालो अभियान

मलंगवा – लेखा शाखामा तालाबन्दीपछि सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा प्रमुख र उपप्रमुखबीच सम्बन्ध झनै चिस्सिएको छ ।

एउटै पार्टी नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख निरसल साह र उपप्रमुख शान्ति शबनम मिकरानीबीच लामो समयदेखि राम्रो सम्बन्ध छैन् । विवाद बढ्दै जाँदा नगरपालिकाको लेखा शाखामा तालाबन्दीसम्म हुन पुगेको छ ।

करारमा कर्मचारी नियुक्ति र हरहिसाबका सम्बन्धमा प्रमुख र उपप्रमुखबीच द्वन्द्व बढेपछि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी आफैले विवाद नसटिउन्जेल दुवै जनालाई राखेर मंगलवार नगरपालिका कार्यालयको लेखा शाखामा ताला लगाईदिएका हुन् । यसअघि सोमवार नगर उपप्रमुख मिकरानीले लेखा शाखामा लगाएको ताला नगर प्रमुख साहले तोडेका थिए । प्रमुख र उपप्रमुखबीचको विवाद र प्रमुख प्रशासकीय अधिकृतलाई समेत अनियमिततामा मुछेपछि नगरपालिकाको कामकाज नै प्रभावित भएको छ ।

बीचमा केही समय प्रमुख र उपप्रमुखबीचको विवाद केही मत्थर भएपनि पुनः बल्झिएसँगै नगरपालिकाबाट नगरवासीले पाउने सेवा र विकासका काम प्रभावित भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीले नगर प्रमुख र उप्रमुख एवं असन्तुष्ट वडाध्यक्षहरुलाई सँगै राखेर छलफलको वातावरण सिर्जना गर्न आफूले समन्वय गरि नै रहेको बताए ।

छलफलको मिति भने तय भइसकेको छैन् । सर्लाहीका धेरैजसो पालिकामा प्रमुख उपप्रमुख एवं अध्यक्ष उपाध्यक्षबीच राम्रो सम्बन्ध नहुँदा नागरिकले पाउने सेवा र विकासका काममा सोझै प्रभाव परिरहेको छ ।