मलंगवा – नेपाल–भारत सीमा क्षेत्रस्थित सर्लाहीका तीन स्थानमा बिहिवार (आज) एकैदिन सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) थप गरिएको छ ।


सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–३, बहादुरपुर, मलंगवा नगरपालिका–५, भाडसर र ब्रम्हपुरी गाउँपालिका–५, सखुअवामा बीओपी स्थापना गरिएको हो । सशस्त्र प्रहरी बलको प्रदेश २ का प्रमुख डीआईजी कृष्णभक्त ब्रम्हचार्यले तीनवटै स्थानको बीओपीको उद्घाटन गरेका हुन् । बीओपीहरुको उद्घाटन गर्दै डीआईजी ब्रम्हचार्यले सीमा सुरक्षा, व्यवस्थापन र सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि अग्रणी भूमिका निर्वाह गर्न निर्देशन दिए ।
सर्लाहीको ५१ किलोमिटर सीमा क्षेत्रमा १७ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको निर्णय अनुसार अहिलेसम्म नौँ स्थानमा बीओपी स्थापना गरिएको छ । बाँकी आठ स्थानमा पनि क्रमैसँग बीओपी राखिने सशस्त्र प्रहरीले जनाएको छ । प्रत्येक बीओपीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को नेतृत्वमा ३५ जनाको हाराहारीमा सशस्त्र प्रहरी बस्ने छन् ।

सीमा क्षेत्रमा बीओपी थपिएसँगै शान्ति सुरक्षा कायम र आपराधिक गतिविधि नियन्त्रणमा मद्धत पुग्ने सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गंगाराम श्रेष्ठले जानकारी दिए ।
