logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

नारायणखोलामा अढाई बिघामा लगाइएको गाँजा नष्ट


  • उज्यालो अभियान

सर्लाहीको नारायणखोलामा गाँजा नष्ट गरिँदै । तस्बिर : उज्यालो अभियान

लालबन्दी – सर्लाहीको उत्तरी चुरेभेगस्थित दुर्गम क्षेत्रमा पर्ने नारायणखोलामा प्रहरीले साँढे दुई बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट गएका प्रहरीले शनिवार दुई बिघा १० कठ्ठामा लगाएको गाँजाका हुर्कदै गरेका बिरुवाहरु नष्ट गरेर साँझ अबेर फर्किएको हो । नारायणखोलामा गत वर्ष पनि ठूलो क्षेत्रमा लगाइएको गाँजा खेती नेपाल प्रहरी र सशस्त्र प्रहरीले नष्ट गरेको थियो ।

त्यहाँको मोटरदोभान, सत्रकठ्ठा, माइस्थान, हात्तीसुँढे लगायतका स्थानमा व्यावसायिक किसिमले लगाइएको हरियो गाँजा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

राम्रो आम्दानी हुने भएकाले नारायणखोलाका स्थानीयले भारतीय व्यापारीहरुको सहयोगमा केही वर्षदेखि अन्य बाली लगाउन छाडेर पाखो बारीमा गाँजा खेती गर्दै आएका छन् । त्यहाँ तयार पारिने गाँजा लुकाईछिपाई भारतसम्म पुर्याएर राम्रो मूल्यमा बिक्री गरिँदै आएको स्रोतले जनाएको छ ।