logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पार्टी प्रवेश कार्यक्रममा तनाव, प्रशासनको सतर्कताले दुर्घटना टर्यो


  • उज्यालो अभियान

काँग्रेसले रामनगर गाउँपालिकाको बिर्तामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम । तस्बिर : उज्यालो अभियान

मलंगवा – सर्लाहीको रामनगर गाउँपालिका–५, बिर्ताको अवस्था सामान्य बन्दै गएको छ । तर अहिले पनि प्रहरीले निगरानी भने गरिरहेका छन् ।

हिजो त्यहाँ नेपाली काँग्रेसका नेता एवं सर्लाही क्षेत्र नं. ४ का सङ्घीय सांसद डा. अमरेश कुमार सिंहले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शिवपुजन राय पक्षबाट अवरोध हुँदा तनाव उत्पन्न भएको थियो । बिर्ताको एक विद्यालयमा भएको कार्यक्रममा सांसद सिंहले नेकपा नेता शिवपुजन रायका भाई हरिनन्दन राय लगायतलाई पार्टीमा प्रवेश गराएका छन् । विशेष गरि राय नेतृत्व समूहलाई कांग्रेसमा प्रवेश गराउन प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंहले निकै प्रयास गरेकाे बुझिएकाे छ ।

आफ्नो काकाका छोरालाई काँग्रेस नेता सिंहले पार्टीमा प्रवेश गराएपछि रुष्ट भएका नेकपा नेता रायले कार्यक्रममा अवरोध गर्न खाेजेका कारण तनाव उत्पन्न भएको हो । तर सुरक्षा निकायको सावधानीले झडप भने हुन पाएन् । अवस्था बिग्रन नदिन सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर, सशस्त्र प्रहरीका उपरीक्षक (एसपी) गङ्गाराम श्रेष्ठ लगायत सुरक्षा प्रमुखहरु नै हिजो दिनभर कार्यक्रम स्थलमा बसेर गएसाँझ अबेर सदरमुकामतर्फ फर्किए ।

रामनगर क्षेत्रमा राती पनि ठूलो सङ्ख्यामा नेपाल प्रहरी तथा बाक्लो मात्रामा सशस्त्र प्रहरी तैनाथ गरिएका थिए । स्रोतका अनुसार असन्तुष्ट पक्षले काँग्रेसमा प्रवेश गरेका हरिनन्दन रायको गाडीमा आक्रमण गरेका छन् । रायको गाडीको सिसा फुटेको छ ।

काँग्रेस सांसद सिंहले स्थानीय प्रशासनसँग समन्वय गरेर आफूले कार्यक्रम राखेको बताए । उनले दुई सय बढीलाई काँग्रेस मा प्रवेश गराएको दावी गरेका छन् । कोरोना भाईरसको बढ्दो सङ्क्रमणकै बीच भएको कार्यक्रममा सङ्घीय सांसद सिंह, प्रदेश सभा सदस्य द्वोय वीरेन्द्र सिंह र उपेन्द्र कुशवाहा, पार्टीका जिल्ला उपसभापति सुरेन्द्र सिंह लगायतको उपस्थिति थियो ।

४ नं. निर्वाचन क्षेत्रमा पर्ने रामनगरमा बर्सेनि जसो काँगे्रस नेता सिंह र नेकपा नेता रायपक्षबीच झडप हुने गरेको छ । गत वर्ष रामनगरको बहुअर्वा गाउँमा गोली चल्दा एक जनाको ज्यान गएको थियो भने केही मानिस घाईते थिए । सर्लाहीको ४ नं. क्षेत्र सुरक्षाको हिसाबले अति संवेदनशील मानिन्छ ।