logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कोरोना कहर : परीक्षण ठप्प, बेवास्ता बढ्दो


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा परीक्षण गर्न छाडिएसँगै केही सातादेखि कोरोना भाईरसका नयाँ संक्रमित (कुनै दिन दुई/चार जना बाहेक) थपिएका छैनन् ।

कोरोनाको संक्रमण छ वा छैन् भन्ने पत्ता लगाउन गरिने पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलनको काम ठप्प जस्तै छ । निषेधाज्ञा खुलेसँगै कोरोना परीक्षणको दायरा घटेको स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीका कोभिड–१९, फोकल पर्सन सुशील कुमार झाले उज्यालो अभियानसँग बताए । गाउँपालिका÷नगरपालिकाहरुले परीक्षणतर्फ चासो दिएका छैनन् ।

परीक्षण नै नहुँदा आम जनमानसमा अब कोरोना भाईरसको संक्रमण नै छैन् भन्ने किसिमको भान भएको झाले जानकारी दिए । चिकित्सकहरुले भने परीक्षण नहुँदा संक्रमणको अवस्था सुन्य जस्तो देखिएपनि कार्यालय, हाटबजार र यातायातका साधनमा यात्रा गर्दा सावधानी अपनाई राख्न आग्रह गरेका छन् ।

जिल्ला अस्पताल मलंगवाका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर सन्जिव कुमार सिंहले भीडभाड बढिरहेको अहिलेको अवस्थामा अझ बढी सावधानी अपनाउनु पर्ने बताए । सबैक्षेत्र खुल्ला गरिएसँगै माक्स नलगाउने, भौतिक दूरी पालना नगर्ने, अनावश्यक रुपमा हूल बाँधेर बस्ने जस्ता कार्य गर्नाले संक्रमण सर्ने जोखिम रहेको डा. सिंहले बताए ।

यसको असर स्वास्थ्य अवस्था कमजोर रहेका तथा अन्य रोगबाट पीडित भइरहेकाहरुलाई घातक बन्न सक्नेतर्फ डा. सिंहले सचेत समेत गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका अनुसार सर्लाहीमा अहिलेसम्म १४ हजार १८९ जनाको पीसीआर विधीबाट कोरोना परीक्षण भएको छ । त्यसमध्ये दुई हजार ६२ जनामा कोरोना संक्रमण पाइएको छ ।

एक हजार आठ सय २१ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् । सर्लाहीमा अहिले २३३ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये पनि १८ जना मलंगवा र बरहथवाको आइसोलेसनमा बसिरहेका छन् भने अन्य होमआइसोलेसनमै बसिरहेका स्वास्थ्य कार्यालयले जनाएको छ । एक जना संक्रमितले काठमाडौंमा उपचार गराईरहेका छन् ।

कोरोना संक्रमणबाट सदरमुकाम मलंगवामा दुई, लालबन्दी, हरिपुर, चक्रघट्टा, हरिपूर्वा र बरहथवामा एक/एक जना गरी सात जनाको मृत्यु भएको छ ।