लालबन्दीस्थित तरकारी बजारमा बिक्रीका लागि राखिएको तरकारी किनबेच हुँदै । (फाईल तस्बिर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीका बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन थालेको छ ।
अघिल्लो साता तीन/चार दिन झरी पर्दा बजारमा ताजा हरिया तरकारीकै अभाव भएको थियो । तर अहिले पानी पर्न रोकिएसँगै पर्याप्त मात्रामा पहिलेको झैँ तरकारी आइरहेको लालबन्दी बजारका थोक तरकारी व्यापारी मोहम्मद उस्मानले जानकारी दिए ।
व्यापारी उस्मानका अनुसार अहिले स्थानीय स्तरमा फलेका बोडी, भान्टा, परवल, खुर्सानी, घिरौला लगायतका तरकारी पर्याप्त मात्रामा आइरहेका छन् । यहाँ उत्पादन भएका तरकारी स्थानीय हाटबजारका साथै गौर, जनकपुर, वीरगञ्ज, पोखरा, काठमाण्डौं लगायत देशका प्रमुख शहरहरुमा निर्यात हुने गरेको छ । पर्याप्त मात्रामा तरकारी आइरहेपनि अचानक आकासिएको मूल्य भने खासै घटेको छैन ।
यसैबीच झरी रोकिएपछि जिल्लाका किसान गोलभेँडा, कोभी, खुर्सानी लगायत तरकारीको बेर्ना सार्न लागिपरेका छन् । कतिपय किसानको भने झरीले बेर्ना नै नष्ट गरेपछि अहिले फेरी नयाँ बेर्ना राखिरहेका छन् ।
