नयाँरोड स्थित काँटामा चेकजाँच गर्दा नियन्त्रणमा परेका अत्याधिक भार बोकेका सबारी साधन । (तस्बिर : उज्यालो अभियान)
नयाँरोड – क्षमता भन्दा निकै बढी भार बोक्ने मालबाहक सबारी साधनलाई नियन्त्रणमा लिईएको छ ।
सर्लाही ट्रक व्यवसायी संघ नयाँरोडको काँटामा चेकजाँच गरेर बढी भार बोक्ने सबारीसाधनलाई नियन्त्रणमा लिईएको हो । सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म पूर्व–पश्चिम राजमार्गमा गुड्ने मालबाहक सबारी साधन चेकजाँच गर्दा क्षमताभन्दा बढी भार बोकेका २९ वटा ट्रक, टिफर र लहरीलाई नियन्त्रणमा लिईएको सर्लाही ट्रक व्यवसायी संघका अध्यक्ष रामबहादुर दबाडीले जानकारी दिए ।
क्षमताभन्दा २२ मेट्रिक टन बढी भार बोकेका सबारी साधन फेला परेको छ । सबारी साधन सहित ४० मेट्रिक टन भार हुनुपर्नेमा ६२ मेट्रिक टन फेला परेको अनुगमनमा सहभागि ट्रक व्यवसायी संघ प्रदेश दुईका संयोजक राजन केसीले जानकारी दिए । अपर्झट गरिएको चेकजाँचमा तराई यातायात व्यवसायी संघका अध्यक्ष शंकर विष्ट, ट्राफिक प्रहरी अधिकृतहरु लगायतको उपस्थिती रहेको थियो ।
क्षमताभन्दा अत्यन्त बढी भार बोकेका सबारी साधनलाई नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको जिम्मा लगाईएको ट्रक व्यवसायी संघले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक जटाशंकर सिंहले अत्यधिक भार बोकेका सबारी साधनलाई आवश्यक कार्बाहीका लागि यातायात कार्यालयमा पत्राचार गरेर पठाईएको जानकारी दिए । क्षमताभन्दा अत्यधिक बढी भार बोक्ने सबारी साधनमा सिमेन्ट, क्लिंकर, कोईला लगायत सामग्री रहेका छन् ।