नवलपुर – नेपाल तेक्वान्दो संघ सर्लाही जिल्ला कार्यसमितिको नेतृत्व चयन गरिएको छ ।
आज (शनिबार) बिहान नवलपुरमा भएको भेलाले खडक बहादुर सापकोटाको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नारायण सापकोटा, सचिवमा संस्कार साह र कोषाध्यक्षमा दिपक कुमार श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा सुचित्रा उप्रेती, बिक्रम साह, लक्ष्मण भण्डारी, चन्द्रिका तामाङ्ग र भरत भन्डारी रहेका छन् । भेलाले भरत भण्डारी, चेतबहादुर ठकुरी, जीवन राज भण्डारी, किशोर थापा, सचिन उपाध्याय, टिकाहरि चालिसे र विवेक मैनाली रहेको सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको नेपाल तेक्वान्दो संघ प्रदेश दुईका प्रमुख गुरु गौतमले जानकारी दिए ।
भेलामा उपस्थित १५० जना खेलाडी मध्ये ७५ जना खेलाडी हरुलाई प्रमाणपत्र तथा एल्लो बेल्ट देखि हाप ब्ल्याक बेल्ट समेत प्रदान गरिएको थियो । दिपक कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिहरुमा नेकपा जिल्ला अध्यक्ष रेवती पन्त, तेक्वान्दोका केन्द्रीय सदस्य एवं दुई नं. प्रदेश प्रमुख गुरु प्रसाद गौतम लगायत रहेका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका नायब निरीक्षक जटाशंकर सिंह लगायतको आतिथ्यता रहेको थियो ।
नयाँ जिल्ला नेतृत्व चयन भएसँगै सर्लाहीमा तेक्वान्दोका गतिविधी बढ्ने अपेक्षा गरिएको प्रदेश प्रमुख गुरुप्रसाद गौतमले बताए ।