सदरमुकाम मलंगवा स्थित सरकारी जिल्ला अस्पताल । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – सर्लाही अस्पताल, मलंगवामा चिकित्सा क्षेत्रमै दुर्लभ मानिएको बच्चा नजन्मिँदै पाठेघर फुटेकी एक महिलाको पहिलो पटक सफल शल्यक्रिया गरिएको छ ।
चक्रघट्टा गाउँपालिका–९, की २७ वर्षीया मिथिलेशीया देवीको फुटेको पाठेघर शल्यक्रिया गरी सफलतापूर्वक बच्चा निकालिएको हो । गत मंगलवार चौथो सन्तानका रुपमा मिथिलेशीया देवीले गाउँकै सुन्दरपुर बर्थिङ सेन्टरमा छोरा जन्माएकी थिईन् । गर्भमा अर्को पनि शिशु रहेको र महिलाको अवस्था जटिल रहेको भन्दै बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीहरुले सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल रेफर गरेका थिए ।
पहिलो शिशुको जन्म भएको झण्डै पाँच घण्टापछि महिलालाई अस्पतालमा ल्याइएको जिल्ला अस्पतालका चिकित्सकहरुले बताएका छन् । अस्पताल ल्याइपुर्याउँदासम्म महिलाको पाठेघर फुटिसकेको र दोस्रो शिशुको हात बाहिर निस्किएको थियो । अत्यन्त जोखिमपूर्ण अवस्थामा ल्याइएको महिलाको डा. अविनाश कुमार सिंह, डा. चन्दन राज शर्मा लगायतको टिमले सफल शल्यक्रिया गरी बच्चा निकालेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर सन्जिवकुमार सिंहले जानकारी दिए ।
शल्यक्रिया गरेर निकाल्दा शिशुको भने मृत्यु भइसकेको थियो । सुत्केरी र जुम्ल्याहामध्ये पहिले जन्मिएको शिशुको अवस्था अहिले सामान्य रहेको छ । शरीरमा रगतको मात्रा कम रहेकाले सुत्केरीलाई अस्पतालमै कार्यरत बायोमेडिकल टेक्नीसियन सुजन रेग्मीले रगत दिएको जिल्ला अस्पतालले जनाएको छ ।