कुलमानको पक्षमा निस्किएको मोटरसाईकल र्याली । (तस्बिर : उज्यालो अभियान)
हरिवन – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्न माग राखेर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा मोटरसाईकल र्याली प्रदर्शन गरिएको छ ।
सामाजिक अभियन्ता तथा सर्भीस फर पिस नेपालका कार्यकारी निर्देशक सरोज खनाल, युवा नेता जय गोले लगायतको अगुवाईमा आज (शुक्रबार) दिउँसो प्रदर्शन गरिएको हो । दिनमा १८ घण्टासम्मको लोडसेडिङबाट मुलुकलाई लोडसेडिङमुक्त बनाएको मात्र हैन झण्डै टाट पल्टिने अवस्थामा पुगेको विद्युत प्राधिकरणलाई नाफामा पुर्याएका कुलमान घिसिङलाई पुनः नियुक्ति नदिएर वर्तमान केपी ओली सरकारले आम नेपाली जनताको चाहनामाथि कुठाराघात गरेको खनालले बताए । र्यालीका सहभागिले हाम्रालाई हैन, राम्रालाई नियुक्ति गर, कुलमान घिसिङलाई नियुक्ति गर लगायत नारा अंकित प्लेकार्ड सहित नाराबाजी समेत गरेका थिए ।
त्यसअघि आजै (शुक्रबार) बिहान कुलमान घिसिङको फोटो सहितको ठूलो ब्यानर बोकेर खनालकै नेतृत्वमा हरिवनमा प्रदर्शन गरिएको थियो । उनीहरुले जीपको हुटमा बसेर हरिवनदेखि लालबन्दी सम्म नाराबाजी सहित कुलमानको पक्षमा तथा सरकारको विरोधमा प्रदर्शन गरेका थिए ।
त्यस्तै भोली (शनिबार) दिउँसो १ बजे हरिवन बजारमा दबावमुलक वृहद् पदयात्रा निकालिने खनालले जानकारी दिए । घिसिङको चारवर्षे कार्यकाल आइतबार पुरा भएको थियो । मंगलबार प्राधिकरणले उनको बिदाइ गरेको छ ।