मलंगवा – सर्लाहीमा आज (आईतबार) थप २१ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।
मलंगवा नगरपालिकामा १९, चक्रघट्टा र विष्णु गाउँपालिकाका एक–एक जनामा कोरोना भाईरस पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका कोभिड १९ फोकल पर्सन सुशिल झाले जानकारी दिए । मलंगवाबाट केही दिनअघि पठाईएको २५१ जनाको थ्रोट स्वाब मध्ये शनिबार १३० जनाको रिपोर्ट आउँदा ८२ जना संक्रमित देखिएका थिए । बाँकी १२१ जनाको थ्रोट स्वाब मध्ये आईतबार आधा भन्दा बढीको रिपोर्ट आएको र त्यसमा १९ जनाको पोजेटिभ देखिएको मलंगवा नगरपालिका स्वास्थ्य शाखा संयोजक अभिराम झाले जानकारी दिए ।
स्वास्थ्य संयोजक झाका अनुसार अधिकांश संक्रमित सर्वसाधारण हुन् । अधिकांश सर्वसाधारण संक्रमित देखिनुले सदरमुकाम मलंगवामा समुदाय स्तरमै व्यापक मात्रामा कोरोना भाईरसको संक्रमण फैलिसकेको पुष्टी भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका कोभिड–१९ फोकल पर्सन झाका अनुसार आजको २१ जना सहित सर्लाहीमा कोरोना संक्रमितको संख्या दुईहजार १५ पुगेको छ । जसमध्ये ११ सयभन्दा बढी कोरोना संक्रमित निको भईसकेका छन् । ४ जना सकृय संक्रमितको अवस्था गम्भिर भएकाले जिल्ला बाहिर उपचार चलिरहेको र बाँकी संक्रमित होम आईसोलेसनमा रहेका झाले जानकारी दिए । सर्लाहीमा हालसम्म कोरोना भाईरस संक्रमणबाट चारजनाको मृत्यु भएको छ ।