logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लामखुट्टे धपाउन बालिएको घुरबाट गोठमा आगो सल्कियो, तीन लाख बढीको क्षति


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

संग्रामपुर – दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको पर्सा गाउँपालिकामा वुधवार राती आगलागी हुँदा तीन लाख रुपैयाँ बढीको क्षति भएको छ ।

पर्सा गाउँपालिका–१, का विन्देश्वर मण्डलको वस्तुभाउ बाध्ने गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट मध्यरातमा आगो सल्किएको हो । आगलागीबाट गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा १ लाख ५० हजार रुपैयाँ बराबर र गहु तथा परालको भुस जल्दा १० हजार रुपैयाँ गरी मण्डलको मात्रै १ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको सीमा प्रहरी चौकी संग्रामपुरले जनाएको छ । आगोले एउटा भैंसी र एउटा गोरु समेत जलेर घाईते भएका छन् ।

यसैगरी विन्देश्वरकै घरमा लागेको आगो छिमेकी रामकुमार मण्डलको घरमा सल्किँदा उनको पनि दुई लाख पाँच हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट रामकुमारको ६० हजार रुपैयाँ नगद, ४० हजार रुपैयाँ बराबरको कपडा, १२ हजार रुपैयाँ बराबरको ५ बोरा चामल, ७५ हजार रुपैयाँ बराबरको सुनको गरगहना र १८ हजार रुपैयाँ बराबरको चाँदी जलेर नष्ट भएको बताइएको छ ।

राती ११ः३० बजेतिर भएको आगलागी गाउँले र आफूहरु मिलेर आधा घण्टापछि नियन्त्रणमा लिएको सीमा प्रहरी चौकी संग्रामपुरका प्रहरी नायब निरीक्षक (सई) किरण शर्माले जानकारी दिए ।