logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

क्यान्सरपीडित कुमारीको उपचारमा आर्थिक सहयोग जुट्दै, केडिया परिवारद्वारा ५१ हजार प्रदान


  • उज्यालो अभियान

कुमारी राई

हरिवन – क्यान्सर रोगबाट पीडित ४१ वर्षीया कुमारी राईको उपचारका लागि सहयोग प्राप्त हुन थालेको छ ।

ईन्दुशंकर चिनी उद्योगका सञ्चालक राजेश केडियाको परिवारले ५१ हजार रुपैंया सहयोग गरेको हो । कुमारीका श्रीमान भिम गोलेले पत्नीको उपचारका लागि केडिया परिवारबाट ५१ हजार रुपैंया सहयोग प्राप्त भएको जानकारी दिए ।

‘तपाईंहरुको उज्यालो अभियानमा निस्केको समाचार पढेर थाहा पाउनु भएछ’, गोलेले उज्यालो अभियानसँग खुशी हुँदै भने, ‘हिजो ५१ हजार रुपैंया दिनुभयो ।’ पत्नीको क्यान्सरको उपचार गर्न आर्थिक अभाव भएकाले यथाशक्य सहयोग गर्न गोलेले सम्पूर्णमा आग्रह गरेका छन् । उनले आफूलाई भेटेरै सहयोग रकम दिन नसक्ने अवस्था मनकारी दानविर महानुभावहरुले भिम गोलेको नाममा नविल बैंकमा रहेको खाता नम्बर ६३१००१७५०१५४३ मा समेत जम्मा गरिदिन आग्रह गरे ।

‘अहिले मेरी श्रीमतिको भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भईरहेको छ, पित्त थैली र पाठेघरको अप्रेशन भईसकेको छ, डाक्टरहरुले अब केमो थेरापी लगायत उपचार गर्ने भनेका छन्’, सहयोगको याचना सहित गोलेले भने, ‘असारदेखि अहिलेसम्म ४ लाख रुपैया भन्दा बढी खर्च भईसक्यो, घरमा भएका भैंसी, गाई गोरु, खसी बाख्रा लगायत बस्तुभाउ बेचिँसके, धेरै जनासँग ऋण सापट पनि गरिसकेँ अब त सापट लिने ठाउँ पनि छैन ।’

गोलेका अनुसार उनको बागमती नगरपालिका–२, धरहरामा दुई कठ्ठा जमिनमा सानो घर मात्र रहेको छ । अन्य जग्गा जमिन र सम्पति नभएकाले अब श्रीमतिको उपचारमा लाग्ने खर्च कहाँबाट जुटाउनु भन्ने पिरलो आईपरेको गोलेको भनाई थियो । ‘आफूसँग भएको र ऋणधन गरेर अहिलेसम्म खर्च गरिरहेको छु, अब लाग्ने खर्च कहाँबाट जुटाउनु भन्ने पिरलो थपिएको छ’, उनले भने, ‘देश विदेशमा रहनुहुने मनकारी महानुभावहरुले यथाशक्य आर्थिक सहयोग गरे, श्रीमतिलाई बचाउन सक्थेँ की ।’

गोले दम्पतिका दुई छोरी र दुई छोरा छन् । जेठी छोरी ममता गोले काठमाडौंमा सामान्य रोजगारी गर्ने र माईली छोरी दिदीसँगै बसेर कक्षा ११ मा पढिरहेको गोलेले बताए । दुई छोरा भने घरमै बसेर हाल कक्षा ५ र २ मा पढिरहेका छन् । उपचारमा छुट गराउनका लागि बागमती नगरपालिका कार्यालयबाट पनि सिफारिस लिईसकेको उल्लेख गर्दै गोलेले अन्य महानुभाव एवं संघ संस्थाहरुलाई यथाशक्य आर्थिक सहयोग गरी पत्नी कुमारीको जीवन बचाईदिन आग्रह गरेका छन् ।