logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लखन्देही खोलाको बाढीमा फसेका घुर्कौलीका एक किसानको सकुशल उद्धार


  • उज्यालो अभियान

फाइल तस्बिर : बाढीमा हेलिएर खोला तर्दै गरेका नारायणखोलाका स्थानीय वासिन्दा

जुटपानी – लखन्देही खोलामा आएको बाढीमा फसेका घुर्कौलीका एक किसानको मंगलवार बेलुका सकुशल उद्धार गरिएको छ ।

लालबन्दी नगरपालिकाको जुटपानी क्षेत्रमा रहेको खेतमा काम गर्न आउँदा हरिवन नगरपालिकाको घुर्कौली निवासी अन्दाजी ५० वर्षीय सिकिन्द्र महतो बाढीमा फसेका थिए । बेलुका अबेर खेतमा काम गरेर फर्किदा बीच खोलामा पुगेपछि अगाडि–पछाडि दुवैतर्फ ठूलो बाढी आएर बीचमै फसेका महतोलाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट पुगेका प्रहरीले सकुशल उद्धार गरी घर पठाएका हुन् ।

बेलुका ७ बजेतिर खोलामा मानिस फसेको जानकारी पाउनासाथ हरिवनबाट सशस्त्र प्रहरीको टोली र रणशेर गण पाँचकुमारी ब्यारेकबाट नेपाली सेनाको टोली समेत घटनास्थलमा पुगेको थियो । लखन्देही खोलामा पूर्व–पश्चिम राजमार्ग बाहेक दक्षिणतर्फ पुल नहुँदा स्थानीयहरु बाढीमै हेलिएरै जोखिमपूर्ण किसिमले वारपार गर्न बाध्य भइरहेका छन् ।

अहिले चुरे भेगमा केही दिनदेखि वर्षा भइरहेकाले बाग्मती, लखन्देही, कालिन्जोर, फूलजोर, बाँके जस्ता खोलाहरुमा जुनसुकै बेला आकस्मिक बाढी आउन सक्ने हुँदा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।