logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीको कौडेनामा ७६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ


  • उज्यालो अभियान

कौडेना – भारतसँग सीमा जोडिएको सर्लाहीको कौडेना गाउँपालिकाबाट थ्रोट स्वाब पठाइएकोमध्ये मंगलवार ७६ जनाको पोजिटिभ रिपोर्ट आएको छ ।

भदौ १४ गते २९६ जनाको थ्रोट स्वाब संकलन गरी धुलिखेलस्थित ल्याबमा पठाइएकोमा मंगलवार एकैदिन सम्पूर्णको रिपोर्ट प्राप्त हुँदा ७६ जनामा संक्रमण पाइएको हो । तीमध्ये केही पुराना संक्रमितको दोहो¥याएर पोजेटिभ रिपोर्ट आएको कौडेना गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सुरेश राय यादवले जानकारी दिए ।

अधिकांश संक्रमितहरु, कन्ट्याक टे«सिङमा परेकाहरु रहेका छन् । यस्तै स्वास्थ्य मापदण्ड पालना नगरी विभिन्न बहानाबाजी गरी हिँड्डुल गर्ने संक्रमितका परिवारका सदस्यहरुमा पनि संक्रमण पाइएको स्वास्थ्य शाखाका संयोजक यादवले बताए ।

यसअघि संक्रमण पुष्टी भएका दुई जना वडाध्यक्षको भने मंगलवार दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य शाखा संयोजक यादवका अनुसार मंगलवार थपिएका संक्रमितहरुलाई घरमै आइसोलेटेड भएर बस्न खबर गरिसकिएको छ ।

पछिल्लो समय पालिकाहरुले संक्रमितहरुलाई होम आइसोलेसनमै राख्ने गरेका छन् । त्यसरी राखिएका संक्रमितहरु १४ दिन बैग्लै आइसोलेटेड भएर नबसिदिँदा परिवारका सदस्य तथा नजिकका अर्को व्यक्तिमा संक्रमण सर्ने क्रम बढेको स्वास्थ्य कार्यालय, मलंगवाका कोभिड–१९ फोकल पर्सन सुशील कुमार झाले बताए । पछिल्लो समय स्वाब दिएका व्यक्तिहरु रिपोर्ट नआउन्जेल क्वारेन्टिनमा नबसेर जथाभावी हिँड्ने गर्दा पनि संक्रमणको दर बढिरहेको छ ।

यसैबीच मंगलवार कौडेनामा ७६ जना थपिएसँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८० पुगेको छ । तीमध्ये १ हजार १० जना संक्रमणमुक्त भइसकेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।