मृतकलाई सलामी अर्पण गर्दै सेनाको टोली । (तस्बिर : उज्यालो अभियान)

चक्रघट्टा – सर्लाहीमा पहिलो चोटी नेपाली सेनाले कोरोना संक्रमित शवको व्यवस्थापन गरेको छ ।
आईतबार साँझ चक्रघट्टा गाउँपालिका–३, सुन्दरपुरदेखि पश्चिम लखन्देही खोला किनारमा कोरोना संक्रमणबाट मृत्यु भएका एक स्थानीयको नेपाली सेनाले व्यवस्थापन गरेको हो । नेपाल सरकारले तोकेको प्रोटोकल अनुसार साँझ सबा ७ बजे कोरोना संक्रमितको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
शव व्यवस्थापन स्थलमा जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाली सेना रणशेर गणका गणपति प्रमुख सेनानी सुरज राउत, नेपाल प्रहरीका उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिलिप सिंह लगायतको उपस्थिती रहेको थियो । रणशेर गणका सेनानी ऋषिकेश न्यौपानेको कमाण्डमा रणशेर गणको सुरक्षा टोली र डेडबडी म्यानेजमेण्ट टोलीको उपस्थितीमा कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको रणशेर गणका गणपति प्रमुख सेनानी सुरज राउतले जानकारी दिए ।

आईतबार साँझ पौने ५ बजेबाट सूरु गरिएको शव व्यवस्थापन कार्य साँझ सबा ७ बजे सकिएको थियो । पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) लगाएर खटिएका नेपाली सेनाका ४ सुरक्षाकर्मीले मृतकलाई सलामी समेत अर्पण गरेका थिए । शव बोक्ने, खाडलमा गाड्ने लगायत व्यवस्थापन कार्यमा खटिएका नेपाली सेनाका ती ४ जना सुरक्षाकर्मीलाई सदरमुकाम मलंगवा स्थित कुसुम पार्टी प्यालेसमा आईसोलेटेड गरिएको छ ।
वीरगंज स्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चक्रघट्टा गाउँपालिका ३ का ३५ बर्षिय एक पुरुषको आईतबार बिहान मृत्यु भएको हो । दुइसाता अघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीरगंज लगिएको थियो । मृतकका आफन्त संघीय सांसद् प्रमोद साहका अनुसार ८ दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भईरहेको थियो ।
योसहित कोरोना भाईरस संक्रमणबाट सर्लाहीमा ४ जनाको मृत्यु भएको छ । तर संक्रमित शवको व्यवस्थापन भने यो नै पहिलो हो । अन्य मृतकको शव काठमाडौं लगायत बाहिरि जिल्लामै व्यवस्थापन गरिएको थियो ।
कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको शवको परम्परा अनुसार दाहसंस्कार नभई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने सरकारले प्रोटोकल बनाएको छ । जसले गर्दा दाहसंस्कार कार्यमा परिवारका कोही सदस्य पनि सहभागि हुन पाउँदैनन् ।