मृतक सविताका श्रीमान प्रमोदलाई नगद सहयोग प्रदान गर्दै जिसस प्रमुख चौधरी । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – सर्लाही सदरमुकाम मलंगवा स्थित अनुमति नै नपाएको अमत्र्य पोलिक्लिनिकले शल्यक्रिया मार्फत सुत्केरी गराउँदा मृत्यु भएकी महिलाका परिवारलाई आईतबार राहत सहयोग गरिएको छ ।
मलंगवा नगरपालिका–९ स्थित अमत्र्यले शल्यक्रिया मार्फत सुत्केरी गराउँदा मृत्यु भएकी मलंगवा नगरपालिका–१० निवासी २४ वर्षीया सविता भन्ने सहती कुमारीको परिवारलाई जिल्ला समन्वय समिती सर्लाहीका प्रमुख मेथुर चौधरी तथा भोर नामक गैर सरकारी संस्थाका संस्थापक अध्यक्ष राजकुमार महतोले आईतबार राहत सामग्री प्रदान गरेका हुन् । समन्वय समितिका प्रमुख चौधरीले नगद १५ हजार सहित तीन बोरा चामल, एक बोरा आलु, बीस किलो प्याज, तेल लगायत सहयोग गरेका हुन । मृतकका परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले आफूले व्यक्तिगत रुपमा सहयोग स्वरुप राहत सामग्री प्रदान गरेको समन्वय समितिका प्रमुख चौधरीले जानकारी दिए ।
त्यस्तै, चन्द्रनगर गाउँपालिका निवासी भोर नामक गैर सरकारी संस्थाका संस्थापक अध्यक्ष राजकुमार महतोले समेत आईतबार नै मृतक सविताका परिवारलाई राहत सहयोग उपलब्ध गराएका छन् । कम्तिमा एकमहिना सम्म खान पुग्ने गरी दुई बोरा चामल, दाल लगायत खाद्यान्न सामग्री सहयोग गरिएको महतोले उज्यालो अभियानलाई जानकारी दिए ।
यसअघि मलंगवा नगरपालिकाका मेयर निरसल साहले नगद ११ हजार रुपैया सहयोग गरेका थिए भने मलंगवा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष मुकेश झाले दुई बोरा चामल, एक बोरा आलु र नगद ११ हजार दश रुपैया सहयोग गरेका थिए ।
भदौ १२ गते शुक्रबार अमत्र्यमा शल्यक्रिया मार्फत पहिलो सन्तानको रुपमा छोरा जन्माएकी सविताको भदौ १६ गते मंगलबार बिहान मृत्यु भएको थियो । हाल सविताले जन्म दिएकी नवजात शिशुलाई किनेको दुध चुसाएर आफन्तले हुर्काईरहेका छन् भने पति प्रमोद साह काजकिरियामा छन् । पहुँच र आर्थिक अवस्था अत्यन्त कमजोर रहेका प्रमोद दैनिक ज्यालादारी तथा सविताले छिमेकीको जुठा भाँडा माझेर जीविका चलाउँदै आएका थिए ।