अमत्र्य पोलिक्लिनिकमा शल्यक्रिया मार्फत सुत्केरी गराईएपछि मृत्यु भएकी सबिता भन्ने सहती देवी । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – सर्लाही सदरमुकाम मलङ्गवामा सुत्केरीको मृत्यु भएको घटनाको छानविन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
मलंगवा नगरपालिका–१०, निवासी २४ वर्षीया सविता भन्ने सहती कुमारीको अमत्र्य पोलिक्लिनिकमा सुत्केरी गराउने क्रममा शल्यक्रिया गरेको चार दिनपछि मृत्यु भएको थियो । भदौ १२ गते मलंगवा नगरपालिका–९, स्थित सो पोलिक्लिनकमा भर्ना गरिएकी सविताको भदौ १६ गते मंगलबार बिहान मृत्यु भएको थियो । थप उपचारका लागि जनकपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको देखाउन पोलिक्लिनिकमै मृत्यु भएपनि हतार हतार सवितालाई मंगलबार बिहान ३ बजे एम्बुलेन्समा राखेर जबर्जस्ती पठाईएको आफन्तले गुनासो गर्दै आएका छन् ।
सो घटनाको आवश्यक छानविन गरी क्षतिपूर्ति उपलब्ध गराईदिन माग गर्दै मृतक सविताका श्रीमान प्रमोद साहकी दिदी दुलारी देवीले आज (शुक्रबार) बिहान सीडीओ कार्यालयमा उजुरी दिएकी हुन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मृतकको परिवारबाट घटनाबारे छानविन र क्षतिपूर्ति माग गर्दै ठाडो उजुरी परेको जानकारी दिए । ‘उजुरी परेपछि घटनाबारे छानविन सूरु गरिएको छ’, प्रजिअ पौडेलले भने, ‘जिल्ला स्वास्थ्य कार्यालय, मलंगवा नगरपालिका कार्यालय लगायतसँग आवश्यक कागजात झिकाएर अन्य स्वास्थ्य संस्थाहरुको पनि छानविन अगाडी बढाउने तयारी भईरहेको छ ।’
पोलिक्लिनिकमा सामान्य ओपिडी सेवा मात्रै प्रदान गर्ने अनुमति भएपनि डा. सुरेन्द्र कुमार यादवले लामो समयदेखि ‘अप्रेसन थिएटर’ नै खडा गरी शल्यकृया गर्दै आएको पाइएको छ । सुत्केरीको मृत्यु पश्चात दुई दिनअघि सञ्चारकर्मीहरु पोलिक्लिनिमा पुग्दा डा. यादव स्वयंमले शल्यकृयाको अनुमित नपाएको स्वीकार गरेका थिए ।