बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–५, सखुवनीमा देखिएको जग्गाको विवाद मिलाउन ७ सदस्यीय समिति गठन गरिएको छ ।
त्यहाँ अन्दाजी ३ बिगाह जति नदी उकास ऐलानी जग्गामा फरक–फरक पक्षबीच मसान घाट, फुटबल मैदान वा छठ घाट के बनाउने ? भन्ने विवाद बढ्दै गइरहेको छ । जग्गालाई फुटबल मैदान बनाउनुपर्छ भन्ने पक्ष र फुटबल मैदान नभई मसान घाट रहन दिनुपर्छ भन्ने पक्षबीच केही साताअघि झडप नै भएको थियो ।
सोही विवाद बढ्दै गएपछि ईश्वरपुर नगरपालिकाको नवनिर्मित भवनमा बिहिवार साँझ अबेरसम्म भएको छलफलबाट नगर प्रमुख मनोज कुमार देवकोटा संयोजक सहित उपप्रमुख एकावती देवी चौधरी, सम्वन्धित वडाका वडाध्यक्ष रुप बहादुर आले मगर, ईलाका प्रहरी कार्यालय केशरगञ्जका इन्सपेक्टर वीरेन्द्र राज गुरुङ तथा नेकपा, काँगे्रस र जसपाका एक÷एक जना प्रतिनिधि रहने गरी ७ सदस्यीय समिति गठन गरिएको हो ।
यो समितिले प्राविधिकहरुसँग समन्वय गरी जग्गाको क्षेत्रफल पहिचान गरी खेलकुद मैदान, छठ घाट र मसान घाट कहाँ निर्माण गर्दा उपयुक्त हुने छ भन्ने कुराको निर्णय गर्ने छ ।
जग्गाकै विवाद टुंग्याउन यसअघि वडा कार्यालयमा भइरहेको छलफलमा दुई पक्षबीच झडप भएपछि बिहिवार छलफल भएको स्थलमा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरको नेतृत्वमा र ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासबाट इन्सपेक्टर वीरेन्द्र राज गुरुङको नेतृत्वमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।