logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

२४ दिनसम्म रिपोर्ट नआउँदा सर्लाहीमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी आजित, स्थानीय त्रसित


  • उज्यालो अभियान

टंक क्षेत्री/मलंगवा- थ्रोट स्वाब परीक्षण गर्दा कोरोना भाईरस पोजेटिभ देखिए संक्रमित १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने हुन्छ। पछिल्लो समय त सरकारले १४ दिनपछि पुनः परीक्षण नै नगरी संक्रमितलाई घर पठाउन भनेको छ।

तर सर्लाहीका विभिन्न पालिकाबाट २४ दिनअघि संकलन गरी पठाइएको थ्रोट स्वाबहरुको समेत परीक्षण रिपोर्ट आएको छैन। थ्रोट स्वाब परीक्षणको रिपोर्ट आउन ढिलाई हुँदा सम्बन्धित पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी आजित बन्दै गएका छन् भने सर्वसाधारण त्रसित बनिरहेका छन्।

जिल्लाको दक्षिणी क्षेत्र स्थित रामनगर गाउँपालिकाबाट साउन २५ गते नै पठाएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार साँझसम्म पनि आएको छैन। ७२ जनाको स्वाब पठाइएकामा ६ जनाको रिपोर्ट नआएको रामनगर गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष यादवले जानकारी दिए। ‘साउन २५ गते ७२ जनाको स्वाब संकलन गरेर टेकु पठाएका थियौं, त्यसमध्ये ६६ जनाको रिपोर्ट आयो जसमा ४ जनालाई पोजेटिभ देखिएको थियो, उनीहरु पनि पुनः नेगेटिभ रिपोर्ट आएर घर गईसके’, यादवले भने, ‘तर ६ जनाको रिपोर्ट अझै आएको छैन, ३–४ पटक लिखित पत्र पठाइसक्यौं, आज हुन्छ मात्र भनेर टारिराखिएको छ, यहाँ रिपोर्ट नआउनेहरुले तंग गरेर हैरान पारिसके।’

रिपोर्ट आउन ढिलाई हुँदा स्थानीय बासिन्दा समेत त्रसित बनिरहेको यादवको भनाई छ। ‘यहाँ त स्वाब दिएपछि घरमै नबसेर निष्फिक्री गाउँ घुम्ने चलन छ’, यादवले भने, ‘२५ दिनपछि आएको रिपोर्टमा यदि कसैको पोजेटिभ देखिए त स्थिती बर्वादै हुन्छ नी, स्वयं संक्रमित निको भईसके पनि अरु धेरैलाई सारिसकेको हुनसक्छ र कन्ट्याक्ट ट्रेसिङको लहर त कहाँ हो कहाँ?’

त्यस्तै पर्सा गाउँपालिकाबाट भदौ ४ गते टेकु पठाएको स्वाबको पनि रिपोर्ट आएको छैन। २ सय ३३ जनाको स्वाब मध्ये ८ जनाको रिपोर्ट आउन बाँकी रहेको उक्त गाउँपालिकाका स्वास्थ्य शाखाका नवलकिशोर महतोले जानकारी दिए। ‘२ सय ३३ जनाको स्वाब पठाएका थियौं, रिपोर्ट आएको मध्ये हालसम्म ३४ जना पोजेटिभ देखिईसके, अझै ८ जनाको रिपोर्ट आउनै बाँकी छ’, महतोले भने, ‘स्वाब दिएकाहरु गाउँमा निर्धक्क घुमेर हिँडने गरेकाले रिपोर्ट आउन ढिलाई हुँदा स्थानीयमा त्रास बढेको छ।’

गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव पनि संकलन गरेर पठाएको स्वाब परीक्षणको रिपोर्ट आउन ढिलाई हुँदा कोरोना भाईरस संक्रमणको जोखिम बढ्दै गएको बताउँछन्। ‘शंका लागेर परीक्षणका लागि स्वाब निकालिएका व्यक्तिहरु घरमै नबसेर निष्फिक्री गाउँ घुमिरहेका हुन्छन्’, मेयर यादवले भने, ‘अनि स्वाब परीक्षणको रिपोर्ट आउन ढिला हुँदा पोजेटिभ देखिएकाहरुले गाउँका धेरैजनामा कोरोना भाईरसको संक्रमण फैलाउने ठूलो जोखिम हुन्छ।’  

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार सर्लाहीमा मंगलबारसम्म १ हजार ६८४ जना कोरोना भाईरस संक्रमित पुगिसकेका छन्। जसमध्ये ९ सय ६६ जना निको भएका र बाँकी जिल्ला बाहिर, सम्बन्धित पालिका तथा होम आइसोलेसनमै रहेका छन्।
(नागरिकन्युजडटकमबाट)