
मलंगवा – नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने सवालमा नेपाली कांग्रेस सर्लाहीमा समेत विवाद देखिएको छ ।
जिल्ला सभापति नागेन्द्र कुमार राय पक्ष र पूर्व सभापति लक्ष्मण राय नेतृत्व पक्षबीच क्रियाशिल सदस्यता वितरणको विषयमा विवाद देखिएको हो । जिल्ला सचिब नविन अधिकारीले पार्टीकै लेटरप्याडमा हस्ताक्षर गरेर गत शनिबार जिल्ला सभापति रायलाई क्रियाशिल सदस्यता वितरणबारे ध्यानाकर्षण पत्र नै बुझाएका छन् । ध्यानाकर्षण पत्र पूर्व जिल्ला सभापति लक्ष्मण राय तथा जिल्ला सचिव नविन अधिकारीले जिल्ला सभापति नागेन्द्रकुमार रायलाई बुझाएका हुन् ।
जिल्ला स्थित पार्टीका विभिन्न तहमा रहेका २८९ जना नेता कार्यकर्ताको हस्ताक्षरमा निर्णयको प्रतिलिपि सहित ध्यानाकर्षण पत्र बुझाईएको जिल्ला सचिव अधिकारीले जानकारी दिए । ध्यानाकर्षण पत्रको बोधार्थ केन्द्रीय सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कालाई समेत गरिएको छ । तत्कालिन नेपाल लोकतान्त्रिक फोरम समायोजनका क्रममा उक्त पार्टीका कार्यकर्तालाई क्रियाशिल सदस्यता प्रदान गर्ने सहमतिलाई टेकेर जिल्लामा व्यक्तिवादी र व्यक्तिगत रुपमा पार्टी प्रवेश गरेकालाई समेत पार्टी समायोजन भएजसरी क्रियाशिल सदस्य थप गर्न जिल्ला सभापति रायले सिफारिस गरेर सदियौं पूराना नेता कार्यकर्ता अन्यायमा परेको पूर्व जिल्ला उपसभापति एवं महाधिवेशन प्रतिनिधि विनोद खनालले जानकारी दिए ।
‘नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनलाई प्रभाव पार्ने गरी तत्कालिन नेपाल लोकतान्त्रिक फोरम पार्टी समायोजन भएका क्रियाशिल सदस्यहरु बाहेकका व्यक्तिहरु पार्टीको विधान विपरित समायोजन समितिले गरेको निर्णयले व्यक्तिवादी र व्यक्तिगत रुपमा पार्टी प्रवेश गरेकालाई समेत पार्टी समायोजन भएजसरी यस जिल्लामा क्रियाशिल सदस्य थप गर्न पार्टी सभापतिले सिफारिस गर्नुभएको र सो अनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मिति २०७६।११।१९ गतेको निर्णयले यस जिल्लामा समग्र नेपाली कांग्रेसमा आस्था राख्ने क्रियाशिल सदस्य र आम शुभचिन्तकहरु समेत आश्चर्यचकित भएका छन्, छौं’, निर्णयमा लेखिएको छ, ‘तसर्थ पार्टी समायोजन बाहेक व्यक्तिगत रुपमा पार्टी प्रवेश गरी नेपाली कांग्रेसमा प्रवेश गरेका उम्मेद्वारहरुको खुसीले वितरण गरिएको अर्थात गर्ने क्रियाशिल सदस्यहरुको नामावली खारेज गरी मौजुदा विधान अनुसार क्रियाशिल सदस्य वितरण गर्न अनुरोध गर्दछौं ।’
त्यस्तै १० दिनभित्र पार्टी समायोजन जसरी व्यक्तिगत रुपमा पेश गरेका क्रियाशिल सदस्यहरु खारेज गर्नुपर्ने, हरिपूर्वा नगरपालिका र कौडेना गाउँपालिकाका पार्टी संयोजकलाई पार्टी समायोजन प्रकृया सूरु भैसकेपछि कुनै पूर्वाग्रही कार्यबाही गर्न नमिल्ने भएकाले अवैधानिक अविश्वासको प्रस्ताव खारेज गर्नुपर्ने र क्षेत्र नं. २ का सभापति र केही प्रदेश सभापतिहरुलाई कुनै जानकारी नगराई वडा समिति विस्तार गरिएकोले उक्त निर्णय खारेज गर्नुपर्ने समेत माग गरिएको छ । माग पूरा नभए बाध्य भएर आन्दोलनमा उत्रने चेतावनी समेत निर्णयमा लेखिएको छ ।
पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, जंगीलाल राय र कृष्णदेव राय यादवलाई पनि पार्टी समायोजन भए जसरी उनीहरुले दिएको २५ सय भन्दा बढी नामावलीलाई क्रियाशिल सदस्यता दिईएको भन्दै पूर्व सभापति लक्ष्मण राय नेतृत्व पक्षले गम्भिर असहमति प्रकट गरेको हो । निर्णयको उपस्थितीमा जिल्ला कार्य समितिका उपसभापति रामवली राय, सचिव अधिकारी, कोषाध्यक्ष बाबुकाजी प्रधान, पूर्व जिल्ला सभापतिहरु लक्ष्मण राय, अशोक खनाल, सत्यदेव सिंह दनुवार, पूर्व जिल्ला उपसभापति विनोद खनाल, महासमिति सदस्यहरु खड्गबहादुर कार्की, सुशिल शर्मा, शेरबहादुर योञ्जन, अन्तोष दास लगायत महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कार्यसमितिका सदस्यहरु, क्षेत्रीय, प्रदेश, वडा सभापति लगायत विभिन्न तह र तप्काका कांग्रेस नेता कार्यकर्ताहरुको हस्ताक्षर रहेको छ ।
यता जिल्ला सभापति नागेन्द्रकुमार राय भने तीनैजनाबाट आएको नामावली आफूले सिधै केन्द्रमा पठाईदिएको बताउँछन् । ‘क्षेत्र नं. १ मा विगतमा भएका चुनावहरुमा पार्टीका प्रत्यासीहरुको जमानत जफत नै हुने गरेको थियो, तर शम्भुलालजी उठ्दा त विजयी उम्मेद्वारसँगै प्रतिष्पर्धी बनेर निकै मत आएको छ’, जिल्ला सभापति रायले भने, ‘त्यस्तै क्षेत्र नं. २ मा पनि जंगिलालजी उठेपछि पार्टीलाई निकै बढी भोट आएको कुरा प्रमाणित नै छ, त्यसैले यस्तो अवस्थामा स्वभाविक रुपमा उहाँहरुसँगै अन्य पार्टीबाट कांग्रेसमा नेता कार्यकर्ता आएका र ती मध्ये सकृय नेता कार्यकर्तालाई क्रियाशिल सदस्यका रुपमा समेटनु पर्ने उहाँहरुको माग हो ।’ जिल्ला सभापति रायका अनुसार नयाँ थप भएबाहेक यसअघि सर्लाहीमा कांग्रेसका ६ हजार क्रियाशिल सदस्य रहेका छन् ।