लागूऔषध सहित पक्राउ परेका युवाहरु । ( फाइल
तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)


मलंगवा – लागूऔषधको रुपमा प्रयोग हुने नेपालमा प्रतिबन्धित औषधी सहित दुई दिनयता मलंगवा नगरपालिका अन्तर्गत गम्हरियाका चारजना युवा पक्राउ परेका छन् । उनीहरुको साथबाट वालरेक्स नामक सय मिलिलिटरका २५६ बोतल लागूऔषध बरामद् भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत शुक्रबार दिउँसो भारतबाट सोनवर्षा बजारबाट मलंगवातर्फ आउँदै गर्दा मलंगवा नगरपालिका–९ सार्वजनिक सडकमा भारतीय BR30 H 6323 नम्बरको मोटर साइकलमा लागूऔषध ओसार्दै गरेको अवस्थामा मलंगवा–११ गम्हरियाका २० वर्षीय रुपेश रायलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरी आवश्यक कार्बाहीका लागि बझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाईकलमा उनीसँगै सबार अर्का एकजना भने फरार भएको प्रहरीले जनाएको छ । यादवलाई नियन्त्रणमा लिएसँगै उनी चढेको मोटरसाईकल, १०० बोतल वालरेक्स, मोबाईल सेट २ थान बरामद् गरिएको छ ।
त्यस्तै शुक्रबार बिहान नै सशस्त्र प्रहरी बल त्रिभुवननगर बोर्डर आउटपोष्टको टोलीले मलंगवा नगरपालिका–९ राजदेवी मन्दिर नजिकबाट मलंगवा नपा–११ निवासी २६ वर्षीय शम्भु कुमार साह कानुलाई ४८ बोतल वालरेक्स सहित पक्राउ गरेको छ । भारतको सोनवर्षाबाट प्लाष्टिकको झोला भित्र उक्त लागूऔषध हातैले बोकेर नेपालतर्फ आउँदै गर्दा साहलाई पक्राउ गरिएको हो ।
त्यसैगरी सीमा प्रहरी चौकी त्रिभुवननगरको टोलीले शनिबार १०८ बोतल वालरेक्स सहित दुईजनााई पक्राउ गरेको छ । भारतको सोनवर्षाबाट नेपालतर्फ लागूऔषध ओसार्दै गरेको अवस्थामा ब्रहम्पुरी गाउँपालिका–४ त्रिभुवननगरबाट लागूऔषध फालेर फरार हुन सफल मलंगवा नपा–१२, गम्हरिया निवासी २४ वर्षीय बिरेन्द्र राय र २३ वर्षीय दिलिप दासलाई प्रहरी टोलीले पिछा गरेर पक्राउ गरेको जनाएको छ । राय र दास चढेको भारतीय JH 01 AP 6266 नम्बरको मोटरसाईकल समेत बरामद् गरिएको छ ।
पक्राउ परेका चारजना माथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कार्बाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही वर्षयता गम्हरिया लागूऔषध किनबेचको मुख्य थलो बन्दै आएको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन् । उत्तरी क्षेत्रका युवाहरु लागूऔषध किन्नका लागि गम्हरिया पुग्ने गरेको जानकारहरु बताउँछन् ।