नगरपालिका कार्यालय परिसरमा आयोजित छलफल ।
हरिवन – सर्लाहीको हरिवन नगरपालिका भित्रका निजी अस्पताल र त्यहाँ कार्यरत डाक्टरहरुले स्वास्थ्य संस्थाहरु सूचारु नै राख्ने प्रतिवद्धता जनाएका छन् ।
सुक्रवार नगरपालिका कार्यालय परिसरमा भएको छलफलमा सहभागी निजी अस्पतालका सञ्चालक, त्यहाँ कार्यरत डा. र सरकारी स्वास्थ्य चौकीका इन्चार्ज एवं सह–इन्चार्जहरुले यो सङ्कटको घडीमा नागरिकलाई आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने प्रतिवद्धता जनाएका हुन् । कोरोना सङ्क्रमणको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै आगामी दिनमा अझ जटिल परिस्थित सिर्जना भए कसरी अगाडि बढ्ने भन्ने विषयमा हरिवन नगरपालिकाले जिल्लामै पहिलो पटक स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेको हो ।
छलफलमा सहभागी नगरभित्र कार्यरत सबै डाक्टरहरुले एकै स्वरमा सङ्क्रमण रोकथाममा आ–आफ्नो ठाउँबाट साथ दिने प्रतिवद्धता जनाएका नगर प्रमुख गणेश प्रसाद प्रसाईले जानकारी दिए । उनले कोरोना सङ्क्रमणका सम्वन्धमा थप जनचेतना अभिवृद्धि हुने खालका काम गर्ने निर्णय समेत भएको बताए ।
हरिवनमा पछिल्लो पटक साउन २६ गते थ्रोट स्वाब संकलन गरिएकोमध्ये २३ जना र भदौ २ गते स्वाब लिइएकोमध्ये २४ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । त्यसमध्ये अहिले २० जना नगरपालिकाको नयाँ भवनमा बनाइएको आइसोलेसनमा रहेका छन् भने अन्य सङ्क्रमितहरु होम आइसालेसनमै बसिरहेका नगर स्वास्थ्य संयोजक शशीकान्त सिंहले बताए ।