बरहथवाका किसानले पालेको कुखुरा । तस्बिर : उज्यालो अभियान
लालबन्दी – ब्रोइलर कुखुराको मूल्य आधा भन्दा बढीले घटेपछि सर्लाहीका कुखुरापालक किसान मर्कामा परेका छन् ।
कोरोना सङ्क्रमण नियन्त्रण गर्न भन्दै जिल्लाभर निषेधाज्ञा लागू भएपछि दुई सातादेखि बजार बन्द हुँदा कुखुराको मूल्य ह्वात्तै घटेको हो । प्रतिकिलो २५० रुपैयाँ सम्ममा बिक्री हुने जिउँदो कुखुरा अहिले मुस्किलले १३० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको लालबन्दी नगरपालिका–१७, रानीगञ्जका कुखुरा पालक किसान सन्तोष विकले गुनासो गरे ।
अहिलेको मूल्यमा कुखुरा बिक्री गर्दा लागत उठाउन समेत मुस्किल पर्ने किसानहरुको गुनासो छ । बन्दाबन्दीका कारण आफूले मात्रै चार लाख रुपैयाँ भन्दा बढी घाटा बेहोरेको विकले गुनासो गरेका छन् । लालबन्दीको तुलनामा पश्चिमी भेगमा पर्ने बरहथवा क्षेत्रका किसानहरु अझ कम मूल्यमा कुखुरा बिक्री गर्न बाध्य भएका छन् । आफूहरुको क्षेत्रमा जिउँदो ब्रोइलर कुखुरा किलोको ११० रुपैयाँमा बिक्री भइरहेको बरहथवा नगरपालिका–१०, टेकानीका किसान जगर्नाथ चौधरीले बताए । उनका अनुसार ४० दिनमा कुखुरा बेच्न तयार हुन्छ । त्यतिन्जेलसम्म एउटा कुखुराले सातदेखि आठ किलोसम्म दाना खाने गरेको किसानले बताएका छन् ।
महँगो मूल्यमा दाना किनेर खुवाएको कुखुरा अहिले सस्तो मूल्यमा बिक्री गर्नुपर्दा मेहनत र लागत नै नउठ्ने कुखुरापालक किसान चौधरीले बताए । किसानले बन्दाबन्दीमै उत्पादन गरेको कुखुरा बजार क्षेत्रमा केही मात्रामा खुलेका मासु पसल र ग्रामीण भेगमा खपत भइरहेको छ । जिउँदो कुखुरासँगै काटेको मासुको मूल्य पनि दिनहुँ घट्दै गइरहेको छ ।