कालिन्जोर – आकाशे वर्षाको आशमा बसेका सर्लाहीका किसान दिनभर हावा चलेर सुख्खा लाग्दा चिन्तित बनेका छन् ।
पानी पर्न नसक्दा महँगो कामदार र कालोबजारीको मलखाद हालेर रोपेको धान बालीमा धाजा फाट्न थालेपछि किसानलाई चिन्ता थपिएको हो । नहर तथा कुलोको पानी लाग्ने र पप्पीसेट प्रयोग हुने ठाउँमा समस्या नरहे पनि आकाशे वर्षानै कुर्नु पर्ने उत्तरी भेगमा भने समस्या हुन थालेको किसानहरुले बताएका छन् ।
सर्लाहीको पश्चिमी भेगमा बाग्मती सिँचाई आयोजनाको नहरबाट पानी लाग्ने गरेको छ भने दक्षिणी र पूर्वी भेगमा पप्पीसेटबाट सिँचाई गरिँदै आएको छ । उत्तरी भेगमा आकाशे वर्षाको मात्रै भर छ । कृषि ज्ञान केन्द्र, मलङ्गवाका निमित्त प्रमुख देवानन्द रायले पानी नपरेर धाजा फाट्न थालेका खेतमा केही दिनदेखि निरन्तर हावा चलिरहँदा सुख्खापन बढेको बताए ।
बलौटे माटो रहेको उत्तरी चुरेभेग तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा दुई÷चार दिन पानी नपर्ने बित्तिकै धान खेतमा धाजा फाट्ने गरेको कृषि प्राविधिकहरुले बताएका छन् । बेलैमा पर्याप्त वर्षा हुँदा यो वर्ष सर्लाहीमा धान खेती हुने सबैजसो खेतमा रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सर्लाहीमा ४५ हजार ९६० हेक्टर जग्गामा बर्षे धान खेती हुने गरेको छ ।