लालबन्दी – लालबन्दीकी एक जना कोरोना संक्रमित महिलाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
लालबन्दी नगरपालिका–७, स्थित बजारमा मःम पसल सञ्चालन गरेर बस्दै आएकी अन्दाजी ३३ वर्षीया महिलाको ॐ अस्पताल काठमाणडौंमा मृत्यु भएको हो । सिन्धुलीको मरिण स्थायी घर भएपनि ती महिलाको परिवार लामो समयदेखि लालबन्दीमा कोठा भाडा लिएर बस्दै आएका थिए ।
मृतक महिलाको लालबन्दी–१२, जियाजोरमा माईती घर रहेको छ । उनमा केही समयदेखि ज्वरो आउने समस्या देखिँदै आएको थियो । त्यसै क्रममा ५/६ दिन अघि अवस्था जटिल बनेपछि उपचारका लागि भरतपुर पु¥याईयो । तर त्यहाँको अस्पतालमा भर्ना लिइएन् ।
आफन्तले तत्कालै त्यहाँबाट बिरामी महिलालाई काठमाडौं पुर्याए । काठमाडौंमा पनि कोरोना परीक्षण रिपोर्ट नआउन्जेल अस्पतालले भर्ना लिन नमानेको परिवारका सदस्यले बताएका छन् । अस्पतालले भर्ना लिन नमानेपछि थ्रोट स्वाब निकालेर परीक्षण गर्दा महिलामा कोरोना संक्रमण पाइएको थियो ।
महिलाको उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको माइती पक्षलाई उद्धृत गर्दै लालबन्दी–१२, का वडाध्यक्ष दुर्गा बहादुर आलेले जानकारी दिए । वडाध्यक्ष आलेका अनुसार पटक–पटक ज्वरो आएर ठीक नहुँदा ती महिलालाई धामी झाँक्रीको घरमा समेत पुर्याइएको थियो ।
त्यस्तै कोरोना भाईरस संक्रमणका कारण यसअघि नै सर्लाहीका दुईजनाको मृत्यु भईसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका कोभिड–१९ सम्बन्धी तथ्यांक संकलन गर्ने लगायत स्रोत व्यक्ति सुशिल झाका अनुसार शुक्रबार दिउँसो मलंगवा नगरपालिका–९ निवासी ४६ वर्षीय एक पुरुषको मृत्यु भएको छ । फोटोकपी, प्रिन्ट लगायत पसल गर्दै आएका उनको ललितपुर स्थित पाटन अस्पतालमा मृत्यु भएको हो । ज्वरो आउने र सास फेर्न समेत कठिनाई भएपछि उनलाई उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो ।
त्यसैगरी मलंगवा नगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको गत साउन २१ गते कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको थियो । काठमाडौं स्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार गर्दा गर्दै ती महिलाको मृत्यु भएको झाले जानकारी दिए ।
हालसम्म सर्लाहीमा कोरोना भाईरस संक्रमणका कारण तीनजनाको मृत्यु भएको झाले जानकारी दिए ।