logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

स्थानीय सरकारले चाहे सर्लाहीका होटल व्यवसायीले क्वारेन्टिन राख्न होटल दिने, भाडादर निर्धारण


  • उज्यालो अभियान

लालबन्दी – जिल्लका होटल व्यवसायीहरुले पालिका तथा स्थानीय प्रशासनले होटलमा क्वारेन्टिन राख्न चाहेको खण्डमा भाडादर तोकेका छन् ।

सुक्रवार पूर्वपश्चिम राजमार्गस्थित लालबन्दीस्थित थकाली होटलमा बसेको होटल व्यवसायीहरुको बैठकले क्वारेन्टिनका लागि यहाँका होटल दिन तयार हुँदै भाडा दर निर्धारण गरेको हो । व्यवसायीले सरकारी मापदण्ड अनुसार खानासँगै चारपटक चिया, तातोपानी र बेसार पानीसहित एउटा एटेज बाथरुम कोठामा एक जना मात्रै बस्दा दिनको एक हजार आठ सय रुपैयाँ भाडा निर्धारण गरेका छन् । त्यही कोठामा दुई जना बसेको खण्डमा दिनको तीन हजार रुपैयाँ भाडादर तोकिएको छ ।

एसी भएको कोठामा एक जना बस्दा दिनको दुई हजार पाँच सय तथा दुई जना बस्दा तीन हजार पाँच सय रुपैयाँ लिने निर्णय भएको लालबन्दीका होटल व्यवसायी एवं होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का कोषाध्यक्ष बैकुण्ठ सापकोटाले जानकारी दिए । यो भाडादर अनुसार क्वारेन्टिन राख्न चाहेमा सुरक्षा व्यवस्था मिलाउनु पर्ने, स्वास्थ्यकर्मीले नियमित रेखदेख गर्नुपर्ने, टोल छिमेकलाई मनाउने काम स्थानीय सरकारले नै गर्नुपर्ने लगायतको शर्त राखिएका छन् ।

यस्तै होटलले क्वारेन्टिन राख्न दिएबापत लिएको पाँच प्रतिसत रकम होटल तथा पर्यटन व्यवसायी जिल्ला संघलाई प्रदान गर्नुपर्ने निर्णय भएको सङ्घका जिल्ला अध्यक्ष हीराकाजी योन्जनले बताए । यसअघि प्रदेश दुईका आठै जिल्लाका होटल व्यवसायीको बैठकले पनि स्थानीय सरकारले चाहेको खण्डमा क्वारेन्टिन राख्नका लागि उपत्यकामा निर्धारण भएकै भाडादरलाई आधार मानेर होटलहरु प्रदान गर्ने निर्णय गरेको थियो ।