पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन बजार स्थित कृष्ण मन्दिरदेखि उत्तर कैलाशपुरी मन्दिर जाने बाटो छेउमा भएको डुबान । (तस्बिर : उज्यालो अभियान)



हरिवन – आज (सोमबार) बिहान परेको मुसलधारे वर्षाले सर्लाहीको उत्तरी पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा समेत डुबानको समस्या देखिएको छ ।
सर्बसाधारणले आफुखुशी बनाएको घर लगायत संरचना तथा पछिल्लो केही वर्षयता टोलटोलमा निकास बिना केही उचाईका साथ सडक कालोपत्रेको काम भएकाले उत्तरी क्षेत्रमा समेत डुबानको समस्या निम्तिएको हो । आईतबार रातभर सिमसिम पानी परेपनि सोमबार बिहान साँढे ९ बजेदेखि तीनघण्टा भन्दा बढी मुसलधारे वर्षा भएको थियो । उक्त वर्षाले उत्तरी क्षेत्रका हरिवन, नयाँरोड, बागमती, लालबन्दी, नवलपुर लगायत स्थानमा समेत कतिपय घरहरु डुबानमा परेको स्थानीयले गुनासो गरेका छन् । कतिपय ठाउँमा कालोपत्रे सडक सहित संरचनाहरुमा पानीले क्षति पु¥याएको छ ।
हरेक वर्षायाममा सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका बजार एवं गाउँहरु जलमग्न हुने तथा वर्षाको पानीबाट समस्या झेल्दै आईरहेपनि पछिल्लो दुईवर्षयता उत्तरी क्षेत्रमा समेत डुबानको समस्या देखिएको हो । २०५० सालको निकै दिने वर्षामा समेत जलमग्न नभएका उत्तरी क्षेत्रका बजार गाउँहरु अहिले २ घण्टा दर्के पानी पर्ने बितिकै डुबान हुन थालेका छन् ।
निकास बिनाको बिकासले डुबानको समस्या बढेको सामाजिक अभिययन्ता रजनिकान्त झाले बताए । ‘नाला, ह्यूमपाईप, कल्भर्ट जस्ता निकास नै नदिएर सडकको हाईट बढाउँदै कालोपत्रे गर्ने क्रम बढिरहेको छ’, झाले भने, ‘जसले गर्दा कल्पनै नगरिएका गाउँठाउँ डुबानमा पर्न थालेका छन् ।’