लालबन्दीमा तरकारी बिक्री गर्न बसेका थोक व्यापारी । तस्बिर : उज्यालो अभियान
लालबन्दी – सर्लाहीमा हरियो तरकारीको मूल्य तेब्बरले वृद्धि भएको छ ।
केही दिन निरन्तर परेको पानीले उत्पादनमा कमी आउँदा तरकारीको मूल्य बढेको हो । पानीले धेरैजसो तरकारी खेतबारीमै नष्ट भएको किसानले बताएका छन् । लामो लकडाउनपछि विस्तारै तरकारीले बजार पाउन थालेको अवस्थामा आकाशे वर्षाले व्यापक क्षति पु¥याएको लालबन्दी नगरपालिका–११, हीरापुरका किसान राजकुमार महतोले गुनासो गरे ।
जिल्लाको विभिन्न ठाउँका किसानले तरकारी बिक्री गर्ने लालबन्दीस्थित थोक तरकारी बजारमा अहिले हरेक तरकारीको मूल्य आकाशिएको छ । मूल्य बढ्दा किसानलाई राहत मिलेपनि उपभोक्ता भने मारमा परेका छन् ।
लालबन्दीस्थित थोक तरकारी बजारमा झरी पर्न सुरु नहुँदासम्म ८ देखि १० रुपियाँ प्रतिगोटा बिक्री भएको लौका अहिले ३० देखि ३५ रुपियाँ, प्रतिकिलो १५ देखि १८ रुपियाँमा बिक्री भएको परवल ४० देखि ४२ रुपियाँ, १० देखि १२ रुपियाँमा बिक्री भएको झिङ्नी ३० देखि ३२ रुपियाँ सम्ममा बिक्री भइरहेको छ ।
यसैगरी १० देखि १२ रुपियाँमा बिक्री हुने करेला ३० देखि ३५ रुपियाँ र २० देखि २५ रुपियाँमा बिक्री हुने बोडी ५० देखि ६० रुपियाँमा बिक्री भइरहेको लालबन्दीका थोक तरकारी व्यापारी मोहम्मद उस्मानले जानकारी दिए ।
किसानबाट खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म पुग्ने तरकारीको मूल्य अझ महँगिएको छ । पानी धेरै पर्ने याममा तरकारी नष्ट हुने गरेकाले मूल्य बढ्ने गरेको लालबन्दीका खुद्रा तरकारी व्यापारी धनबहादुर राईले बताए ।