logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गैर बजार खण्डमा सडक कालोपत्रेको काम लामो समयदेखि ठप्प, स्थानीयद्वारा चक्काजाम


  • उज्यालो अभियान

कालोपत्रेको माग गर्दै गैर बजारका स्थानीयले गरेको चक्काजाम । तस्बिर : ओमप्रकाश ठाकुर

कविलासी – सर्लाहीको कविलासी नगरपालिका–७, गैर बजार क्षेत्रमा लामो समयदेखि सडक कालोपत्रेको काम रोकिँदा स्थानीय वासिन्दा असन्तुष्ट बनेका छन् ।

नवलपुर–मलङ्गवा सडकको २५ किलोमिटरमध्ये गैर बजार खण्डमा पर्ने ६ सय मिटर सडक मात्र कालोपत्रे हुन बाँकी छ । नाला निर्माणको विषयमा विवाद हुँदा त्यस ठाउँमा लामो समयदेखि काम रोकिएको हो । सडक अलपत्र अवस्थामा छाडिँदा स्थानीय वासिन्दाले पानी पर्दा हिलो र घाम लागेको समयमा धूलोको मार खेप्दै आएका छन् ।

पछिल्लो समय ठेकेदारले ठूल्ठूला थुप्रो पारेर ग्राभेल जम्मा पारेको लामो समय भइसक्दा पनि काम अगाडि नबढाएपछि स्थानीय वासिन्दा थप रुष्ट बनेका छन् । उनीहरुले तत्काल कालोपत्रेको काम सुरु गर्न माग गर्दै सोमवार बिहान केहीबेर सडकमा चक्काजाम गरेका छन् ।

अरु ठाउँ सबैतिर गत वर्ष नै कालोपत्रे पूरा भइसके पनि आफूहरुको ठाउँमा भने अनेक बहाना बनाएर कालोपत्रेको काम अगाडि नबढाइएको गैरका स्थानीय मनोज ठाकुरले गरे । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, जनकपुरले भने सुरुमा नाला नराखी कालोपत्रे गर्ने स्टिमेट रहेको र पछि स्थानीय वासिन्दाले नाला समेत माग गरेपछि सडक विभागबाट स्वीकृति लिन समय लागेको जनाएको छ ।

सो कार्यालयका प्रमुख राजेन्द्र प्रसाद दासले सडक विभागबाट नालासहितको कालोपत्रे स्वीकृत भएर आइसकेकाले अब पानी पर्ने क्रम रोकिनासाथ कालोपत्रेको काम अघि बढाइने बताए । बहुवर्षिय योजना भएकाले आर्थिक वर्ष सकिएपछि पनि अहिलेकै ठेकेदारमार्फत काम गरिने कार्यालय प्रमुख दासले जानकारी दिए । दासका अनुसार अधुरो रहेको काम गर्न ठेकेदार पनि तयार छन् ।