logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा प्रशासन, मालपोत र नापी कार्यालयले भोलीबाट सेवा प्रवाह गर्ने


  • उज्यालो अभियान

मलंगवा – कोरोना भाईरसको संक्रमण फैलन नदिन जारी गरिएको लकडाउनपछि बन्द भएका सर्लाहीको जिल्ला प्रशासन, ईलाका प्रशासन, मालपोत र नापी कार्यालयले भोली (सोमवार) बाट सेवा सूचारु गर्ने भएका छन् ।

जिल्ला संकट व्यवस्थापन केन्द्र सर्लाहीको आइतवार बसेको बैठकले लकडाउनले गर्दा तीन महिना बन्द रहेका यि कार्यालयहरु सोमवारबाट भौतिक दूरी कायम गरी खोल्ने निर्णय गरेको हो । सदरमुकाम मलंगवामा जिल्ला प्रशासन, मालपोत र नापी कार्यालय तथा हरिवन र बरहथवामा ती तीनवटै कार्यालयको ईलाका स्तरीय कार्यालयहरु रहेका छन् ।

लकडाउनको अवधीमा प्रशासन कार्यालयबाट शान्ति सुरक्षा कायम गर्ने र सवारी पास वितरण गर्ने काम भएका थिए भने मालपोत र नापी कार्यालयको सेवा पूर्ण रुपमा ठप्प थियो । लामो समयपछि खुल्न लागेका यि कार्यालयहरुमा एकैपटक सबै ठाउँबाट सेवाग्राही आउँदा भीडभाड हुन सक्ने भएकाले निश्चित दिनमा निश्चित पालिका तोकेर सोही अनुसार सेवा प्रवाह गर्न लागिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले उज्यालो अभियानलाई जानकारी दिए ।

प्रजिअ जिसीका अनुसार जिल्ला प्रशासन कार्यालयले आइतवार मलंगवा र ब्रम्हपुरी, सोमवार हरिपूर्वा, चन्द्रनगर र पर्सा, मंगलवार बलरा, धनकौल र रामनगर, वुधवार विष्णु, चक्रघट्टा र कविलासी, बिहिवार कौडेना, गोडैता र बसबरिया तथा सुक्रवार ईश्वरपुर र हरिपुर नगरपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने छ ।

यस्तै ईलाका प्रशासन कार्यालय हरिवनले आइतवार र सोमवार बाग्मती र हरिवन, मंगलवार र वुधवार लालबन्दी, बिहिवार र सुक्रवार ईश्वरपुरका वासिन्दालाई सेवा प्रवाह गर्ने तालिका बनाएको कार्यालय प्रमुख मनोज कुमार मिश्रले जानकारी दिए ।

यसैगरी बरहथवामा रहेको ईलाका प्रशासन कार्यालयले आइतवार र सोमवार बरहथवा, मंगलवार र वुधवार बसबरिया तथा बिहिवार र सुक्रवार बाग्मती नगरपालिका र हरिपुरका सेवाग्राहीको काम गर्ने तालिका तयार गरेको कार्यालय प्रमुख राजेश यादवले बताए । साबिकको गाविसका आधारमा अहिले एउटै पालिकाका वडाहरुको फरक–फरक प्रशासन, मालपोत र नापी कार्यालयबाट सेवा प्रवाह हुने गरेको छ ।

यसैबीच जिल्ला संकट व्यवस्थापन समितिको निर्णय अनुसार सोमवार बाट पालिका अनुसार बार तोकेर मालपोत र नापी कार्यालयको पनि सेवा सूचारु गर्न लागेको मालपोत कार्यालय मलंगवाका प्रमुख गोपाल प्रसाद बरालले जानकारी दिए । यसअघि सर्लाहीका गाउँपालिका तथा नगरपालिका र अन्य सरकारी कार्यालयहरु भने केही साताअघिबाटै खुलिसकेका छन् ।