logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

पार्टी एकताको सन्देश दिन सर्लाही युवा संघ र अनेरास्ववियुको ध्यानाकर्षण पत्र


  • उज्यालो अभियान

कार्यक्रममा उपस्थित ।

हरिवन – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सर्लाहीले यथाशिघ्र केन्द्रीय तहको बैठकबाट पार्टी एकताको सन्देश दिन नेतृत्व समक्ष आग्रह गरेको छ ।

युवा संघका सर्लाही संयोजक संजय पाँचे मगर र अनेरास्ववियु सर्लाहीका संयोजक विवेक मैनालीले संयुक्त रुपमा हस्ताक्षर गरी केन्द्रीय अध्यक्षद्वय केपी ओली र प्रचण्ड एवं केन्द्रीय कमिटीको ध्यानाकर्षण गराएका हुन् । पार्टी एकतालाई खल्बल्याउने चेष्टा नहोस् भन्ने बारे ध्यानकर्षण पत्र सर्लाही जिल्ला स्थित केन्द्रीय कमिटी सदस्यहरु मार्फत अध्यक्षद्वय र समग्र केन्द्रीय कमिटीलाई बुझाईएको युवा संघ सर्लाहीका संयोजक संजय पाँचे मगरले जानकारी दिए । ‘पार्टी केन्द्रीय तहका बैठकमा देखिएका दृष्य, अस्वस्थ टिका टिप्पणी, विभिन्न गुटउपगुटका क्रियाकलाप र अन्य गतिविधीले यस पार्टीलाई विश्वास गर्ने तमाम जनता र आम कार्यकर्ता निराश छन्, निरासा मात्र हैन, जनताले यत्रो सम्मान र भरोसा गरेका नेताहरुको क्रियाकलापले स्थानीय तहसम्म आक्रोश पनि जन्माएको छ’, ध्यानकर्षण पत्रमा भनिएको छ, ‘फुटेको पार्टी र फुटेको सिसा उस्तै हो, पार्टीलाई यस्तो विरुप बनाएर अनुहार देखाउन जनताको दैलोमा आउने नैतिकता तपाईंहरुमा रहदैन, त्यसैले चाँडै पार्टीका केन्द्रीय तहका बैठकबाट पार्टी एकताको सन्देश दिई आम जनता र कार्यकर्तामा सकारात्मक सन्देश दिन आग्रह गर्दछौं ।’

शनिबार साँझ हरिवन बजारमा आयोजित एक कार्यक्रमबीच ध्यानाकर्षण पत्र प्रदान गरिएको युवा संघ संयोजक मगरले जानकारी दिए । मगरका अनुसार कार्यक्रममा केन्द्रीय सदस्य प्रल्लाद बुढाथोकी, केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्ले, केन्द्रीय सदस्य अच्युतम काफ्ले, जिल्ला नेताहरु राजकुमार यादव, सन्देश श्रेष्ठ, अनेरास्ववियु संयोजक मैनाली लगायतको उपस्थिती रहेको थियो ।