फोटो क्याप्सन : भूतपूर्व सैनिकहरुको तर्फबाट स्वागत एवं बिदाई गरिँदै । तस्बिर : अन्जना शिवाकोटीको फेसबुकबाट
लालबन्दी – सर्लाहीको नवलपुरस्थित रणशेर गण पाँचकुमारीमा सरुवा भएर आएका नयाँ गणपति (कर्णेल) लाई स्वागत र यहाँबाट सरुवा भएकालाई बिदाई गरिएको छ ।
सोमवार लालबन्दीमा बेग्लाबेग्लै कार्यक्रमका बीच गणमा सरुवा भएर आएका नयाँ गणपति सुरज राउतलाई स्वागत तथा यहाँबाट अन्यत्र सरुवा भएका पहिलेका गणपति मीनराज तिवारीलाई बिदाई गरिएको हो । लालबन्दी नगरपालिका–७, स्थित न्यूरोड मार्केट, शिवाकोटी चौकमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ सर्लाही र नेपाल राष्ट्रिय भूतपूर्व सैनिक कृषि सहकारी संस्थाले संयुक्त रुपमा स्वागत एवं बिदाई कार्यक्रम गरेका छन् ।
दुवै जनालाई दोसल्ला ओढाएर स्वागत एवं बिदाई गरिएको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ सर्लाहीका उपाध्यक्ष प्रभुनारायण शिवकोटी (श्याम) ले जानकारी दिए ।
यस्तै लायन्स क्लब अफ लालबन्दी सिटीले नयाँ सरुवा भएर आउनु भएका गणपति राउतलाई स्वागत एवं यहाँबाट सरुवा हुनु भएका तिवारीलाई बिदाई गरेको छ । उद्योग वाणिज्य संघको बैठक कक्षमा मायाको चिनो प्रदान गरी उहाँहरुलाई एकैपटक स्वागत तथा बिदाई गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका उपाध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।