कौडेना – नेपाल कम्युनिष्ट पार्टीको गाउँ कमिटीले सुक्रवार सर्लाहीको कौडेना गाउँपालिकालाई ११ क्विन्टल चामल प्रदान गरेको छ ।
पार्टीका नेता कार्यकर्ताबाट संकलन गरिएको ११ क्विन्टल बराबरको ५५ बोरा चामल गाउँपालिका अध्यक्ष रामप्रसाद राय यादवलाई हस्तान्तरण गरिएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए । पार्टीका जिल्ला इन्चार्ज डाचाराज वाग्ले, जिल्ला सचिव बुढाथोकी, जिल्ला कमिटी सदस्यहरु रामपुकार राय, महादेव शाह र लक्ष्मण रायले गाउँपालिका अध्यक्ष यादवलाई चामल हस्तान्तरण गरेका हुन् ।
जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ समेतको रोहबरमा गाउँपालिकालाई चामल हस्तान्तरण गरिएको नेकपा कौडेना गाउँ कमिटीले जनाएको छ । यसअघि यसैगरी नेकपाले मलंगवा, ब्रम्हपुरी, लालबन्दी लगायतका पालिकालाई पनि बन्दाबन्दीपछि प्रभावित परिवारलाई राहतमा बाँड्न चामल प्रदान गरेको थियो ।